काठमाडौँ, ९ चैत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो ।तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंक बन्नुअघि नै अनियमितताको जग बसिसकेको थियो । एपेक्स बनेपछि अनियमित कर्जा २०३ करोड पुगेको थियो । तर, त्यो सब लुकाएर राष्ट्र बैंकले प्रत्यक्ष नेतृत्वमा एपेक्सलाई एनसिसीमा मिसाएको थियो । यो अनियमितताको विषयमा तत्काल छानबिन गर्दै जानकारी दिन अख्तियारले राष्ट्र बैंकलाई पत्र काटेको थियो ।राष्ट्र बैंकको आन्तरिक छानबिनले २८ पुस ०७३ मा तयार पारेको प्रतिवेदनमा नै एपेक्समा भएको अनियमितता पुष्टि गरिसकेको थियो । प्रतिवेदनले दोषीउपर कारबाही गर्न स्पष्ट रूपमा गभर्नरसमक्ष सिफारिस गरेको थियो । तर, प्रतिवेदन आउनु ११ दिनअघि मात्र योजनाबद्ध रूपमा एपेक्सलाई एनसिसीमा मिसाइएको थियो । अख्तियारको पत्रपछि दोषीउपर कारबाही गर्नुको सट्टा राष्ट्र बैंकले अनियमितता लुकाउने कोसिस गरिरहेको थियो ।‘अख्तियारले एक वर्षअगाडि नै राष्ट्र बैंकलाई पत्र लेखेको हो, छानबिन गरेर कारबाही गर्नू भनेर स्पष्ट निर्देशन थियो, तर यो विषयमा अख्तियारसँग के जानकारी छ भनेर उल्टै पत्र आएको थियो,’ अख्तियार स्रोतले भन्यो । यसबीचमा आफ्नै प्रतिवेदन लुकाउन राष्ट्र बैंकले अर्को छानबिन समिति गठन गरेको थियो । तर, त्यो छानबिन समितिले पनि एपेक्समा घोटाला भएको पुष्टि गरेको थियो ।गत असारमा आएको दोस्रो प्रतिवेदनपछि पनि राष्ट्र बैंक नेतृत्व यो घटना लुकाउने प्रयासमा थियो । १५१ करोडको भ्रष्टाचारमा नेपाल राष्ट्र बैंक मौन बसेकोमा आश्चर्यमा परेको अख्तियारले करिब दुई साताअघि ताकेता गर्दै अर्को पत्र काटेको थियो । त्यहीबीचमा अख्तियारले समानान्तर रूपमा प्रहरीको सिआइबीलाई पनि चनाखो बनाइसकेको थियो । यसरी अख्तियार र सिआइबीको घेरामा परेपछि मात्र राष्ट्र बैंकले एपेक्समा भएको अनियमितताको फाइल प्रहरीलाई जिम्मा लगाएको थियो, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया