काठमाडौं । भारतीय कप्तान विराट कोहली शनिवार अम्पायरको निर्णयमा रुष्ट देखिए।
इङ्ल्यान्डको साउथह्याम्पटनस्थित ‘दि रोज बल’मा जारी ‘विश्व टेस्ट च्याम्पियनशिप’ फाइनल खेल अन्तर्गत भारतको ब्याटिङको दौरान यस्तो दृश्य देखियो। कोहली अम्पायरको निर्णयमा रुष्ट देखिए। संसारकै उत्कृष्ट मध्येका एक ब्याट्सम्यान विराट कोहली मैदानमा जती नै आक्रामक देखिए पनि उनी अनुशासित कप्तान हुन्।
तर टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतको पारीमा हिजो एउटा विवादास्पद घटना घट्यो। जसमा विराट रुष्ट देखिए।

खेलमा ४१औं ओभर चल्दै थियो। न्युजिल्यान्डका तिब्र गतिका बलर ट्रेन्ट बोल्टले सोही ओभरमा भारतका दिग्गज ब्याट्सम्यान चेतेश्वर पुजारालाई ‘एल.बी.डब्लू.’ आउट गरेर पविलियन फर्काएका थिए।
ओभर ४०.६, ट्रेन्ट बोल्ट टू विराट कोहली, बल डाउन दि लेग साइड, न्युजिल्यान्डका खेलाडीबाट कट बिहाइन्डको लागि अपिल। भएको यति मात्रै हो। यो हरेक क्रिकेट खेलमा देखिने सामान्य दृश्य हो। यसमा विराट जस्ता अनुभवी खेलाडी रिसाउनु पर्ने के कुरा छ र?
तर त्यस पछि जे दृश्य देखियो, त्यो निकै नै विवादास्पद देखियो। न्युजिल्यान्डका खेलाडीको अपिलको बावजूद अम्पायर रिचार्ड इलिङवर्थले विराटलाई आउट दिएनन्। सामान्यतया अम्पायरको निर्णय चित्त नबुझेको खण्डमा दुवै टोलीका कप्तानले ‘डि.आर.एस.’ लिन सक्छन्।
यस डिसिजन रिभ्यू सिस्टम (डि.आर.एस.) लिइसकेपछि निर्णय गर्ने जिम्मेवारी थर्ड अम्पायरको हुन जान्छ। थर्ड अम्पायरले विभिन्न क्यामेरा र एँगलबाट सो निर्णयलाई निल्याल्छन्, क्याच आउटको खण्डमा ‘अल्ट्रा एज’ नामक टेक्नोलोजीको प्रयोग गरिन्छ भने एल’बी’डब्लू’मा ‘बल ट्रयाकिङ’ जस्तो प्रविधि अपनाइन्छ।
मैदानमा रहेका अम्पायरको निर्णयको कदर गर्नका लागि एउटा टोलीलाई ‘डि.आर.एस.’ गर्ने मात्र दुई मौका दिइन्छ र हामी अड्कल लगाउन सक्छौं यस्तो सुनौलो मौकाको उपयोग कति सोच विचार गरेर लिनु पर्ने हुन्छ। खैर, विराटको क्याच आउट अपिल विफल भएपछि न्युजिल्यान्डका कप्तान केन विलियमसनले ‘डि.आर.एस.’ लिएनन्।

यस्तो अवस्थामा विराटलाई नट आउट घोषित गरेर ओभर समाप्ति हुनु पर्ने थियो तर अम्पायर इलिङवर्थ आफ्नो सहयोगी लेग अम्पायर माइकल गफसँग सल्लाह लिने पुगे। दुवै अम्पायरको सल्लाह पछि निर्णयको जिम्मेवारी थर्ड अम्पायर रिचार्ड केटेलबोरोलाई दिइयो।
अनि त विराट को रिस जायज छ। उनले बारम्बार अम्पायरलाई एउटै प्रश्न गरिरहे। विपक्षी टोलीका कप्तान केन विलियमसनले रिभ्यू नलिँदा पनि किन थर्ड अम्पायर कहाँ गइयो?
थर्ड अम्पायरले केही बेर लगाएर ‘अल्ट्रा एज’ गरेर दृश्य हेर्दा बलले विराटको ब्याटमा नछोएको सावित भयो अन्ततः विराट नटआउट सावित भए। विराट झनै रुष्ट देखिए। यदि न्युजिल्यान्डका कप्तानले सो रिभ्यू लिएको खण्डमा उनले एक रिभ्यूको मौका गुमाउंथे। जसले खेलको पछिल्लो समयमा निकै महत्वपूर्ण भूमिका खेल्न पुग्थ्यो।
विराटसँगसँगै सम्पूर्ण भारतीय समर्थक आक्रोशित देखिए। विभिन्न सामाजिक सञ्जालको माध्यमबाट अम्पायर इलिङवर्थको आलोचना गरियो। समर्थक लगायत भारतका पूर्व खेलाडी विरेन्दर सेह्वागले पनि यस निर्णयको निन्दा गरे।

अम्पायर इलिङवर्थले पछि विराटलाई केही सम्झाए र उनी मुस्कुराउँदै ब्याटिङ गर्न क्रिजमा फिर्ता गए। विश्वव्यापीरूपमा क्रिकेट समर्थकले अम्पायरको यस निर्णय बारे प्रश्न उठाउँदा ‘ई.एस.पी.एन. क्रिकइन्फो’ले यसको उत्तर दिएको छ। आईतवार एक औपचारिक रिपोर्ट निकाल्दै क्रिकइन्फोले शनिवार भएको घटनाको खुलासा गर्यो।
बोल्ट भर्सेस कोहली अपिल

आखिर के भएको थियो त ४१औं ओभरमा ?
बोल्टले ‘लेग साईड’मा बल गर्दा विराटको ब्याट नजिकैबाट बल गयो, न्युजिल्यान्डका विकेट किपर बीजे वाटलिङले सो क्याच समाते। न्युजिल्यान्डका सम्पूर्ण खेलाडीले आउटको अपिल गरे। केही निर्णय दिइएन। न्युजिल्यान्डका कप्तान केन विलियमसन रिभ्यू लिन तयार देखिए। अम्पायरको उत्तर थियो, ‘त्यो पर्दैन’।
किन ?
जब मैदानमा दुवै जना अम्पायर कुनै पनि खेलाडीले गरेको क्याच सही तरिकाले लिइएको छ भन्ने विषयमा शत प्रतिशत सन्तुष्ट हुँदैनन्, उनीहरूले स्वतह थर्ड अम्पायरलाई उक्त क्याचको रिभ्यू माग्न पाउँछन्।
हिजोको केसमा पनि यही भयो। अम्पायर इलिङवर्थ न्युजिल्यान्डका विकेट किपर वाटलिङले लिएको क्याचमा सहमत थिएनन्। उनलाई सो क्याच लिने क्रममा वाटलिङले बल मैदानमा खसाउन पुगे जस्तो लागेको थियो।

सो कारणले उनले थर्ड अम्पायरको निर्णय मागेका हुन्। यद्यपि इलिङवर्थ विराटको ब्याटले बल छोएको कुरामा सन्तुष्ट थिए। सो कारण उनले विलियमसनलाई रिभ्यू लिन पर्दैन भने।
के अम्पायरको डिसिजन आउट नै थियो त ?
हो, यदि अम्पायर इलिङवर्थलाई वाटलिङले समातेको क्याचमा कुनै शंका हुँदैन थियो भने उनले विराटलाई शुरुमै आउट दिने थिए।
के वाटलिङले क्याच सही तरीकाले लिएका थिए ?
थर्ड अम्पायरले सो क्याचको दृश्य नियालेर हेर्दा वाटलिङले सही तरिकाले सो क्याच लिएको देखियो।
थर्ड अम्पायरको अन्तिम निर्णय के भयो ?
नट आउट। जब वाटलिङले लिएको क्याच सही ठहरियो, तब थर्ड अम्पायरले बल विराटको ब्याटमा लागेको हो वा होइन हेर्न ‘अल्ट्रा एज’को प्रयोग गरे। सो टेक्नोलोजीले विराटको ब्याटले बल नछोएको देखाउँदा थर्ड अम्पायरको निर्णय नट आउट हुन पुगेको हो।

जब मैदानको अम्पायरले थर्ड अम्पायरलाई मात्र क्याच सही तरीकाले लिइएको छ वा छैन भनेर सोध्दा ‘अल्ट्रा एज’ पनि हेर्न पाइन्छ ?
पाइन्छ।
निष्कर्षमा के त ?
जब इलिङवर्थले विराटलाई भने “यदि वाटलिङले लिएको क्याचमा म सन्तुष्ट भएको भए, मैले आउटको इशारा गर्ने थिएँ, अम्पायरले ‘अल्ट्रा एज’ रिभ्यू गर्नु न्युजिल्यान्डलाई होइन भारतलाई फाइदाजनक भएको छ”, विराट मुस्कुराए अनि खेल पुनः सुचारु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया