युरो कप खेल २४ : स्पेन फेरि बराबरीमा रोकियो

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति भएको खेलमा बलियो टोली स्पेन र पोल्यान्डले १-१ गोलको बराबरी खेल खेलेका छन्।

स्पेनको घरेलु मैदान सेभिलमा भएको समूह ईको खेलमा स्पेनले खेलको २५औं मिनेटमा अग्रता लिएको थियो। जेरार्ड मोरेनोको पासमा अल्भारो मोराटाले गरेको गोलबाट स्पेनले पहिलो हाफमा अग्रता लिएको थियो।

पहिलो हाफ १-० गोलले आफ्नो पक्षमा पारेको स्पेनले दोस्रो हाफमा आफ्नो अग्रता जोगाउन सकेन। खेलको ५४औं मिनेटमा पोल्यान्डका कप्तान तथा स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।

खेलको ५८औं मिनेटमा स्पेनले खेलमा अग्रता लिने मौका फेरि गुमायो। स्पेनले खेलमा पेनाल्टी प्राप्त गर्दा स्पेनका फरवार्ड खेलाडी जेरार्ड मोरेनोले सो पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा खेल १-१ को बराबरीमै रहन पुग्यो।

खेलमा त्यस पछि अरु कुनै गोल हुन नसक्दा दुवै टोलीले समान १-१ अंक बाँडेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?