धनगढी-टेकसिँह धामी। अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । दार्चुलाको लिम्पियाधुरादेखि हिमाल, पहाड, चुरे भावर भएर कञ्चनपुरको तटीय क्षेत्रमा बग्ने महाकाली नदीमा पानीको सतह बढेसँगै बस्ती डुबानमा परेका छन् भने आसपासका खोलानाला र निर्माणाधीन चार लेनको पक्की पुलका संरचनामा समेत क्षति पुर्याएको छ ।
महाकाली नदीमा पानीको बहाव बढेसँगै नदीमा आएको बाढी बस्तीमा पसेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्तीमा बाढी पसेको हो । बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतिर लागेका छन् ।
बाढीले ऐरी बस्तीका १० घर डुबानमा परेका भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष्य लालबहादुर शाहीले जानकारी दिए । यस्तै महाकाली नदीमाथि निर्माणाधिन चार लेनको पुलको ड्याम समेत बाढीले भत्काएको छ । बाढी प्रभावित क्षेत्रमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टसहितको जनप्रतिनिधिहरुको टोली पुगेको छ ।

नदीमा पानीको बहाव बढ्दै गएकोले सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । महाकाली नदीमा पानीको बहाव शानिवार बिहान ८ बजेसम्म १ लाख ६६ हजार क्वीसेक मापन गरिएको थियो । जुन खतराको तहभन्दा माथि हो । महाकाली नदीमा अरु बेला ४० हजार क्वीसेक तहमा पानी बग्ने गरेको छ ।
बाढी जोखिमयुक्त क्षेत्रमा प्रहरी टोली तयारी अवस्थामा रहेको छ । ऐरी बस्तीस्थित नदी थुनिएर १०–१२ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा साता दिनदेखि लगातार पानी परिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया