युरो कप २०२० : पहिलो साता जे भयो

काठमाडौं । युरो कप २०२० मा समूह चरणका खेलहरू जारी छन्।

पहिलो साताको खेल सकिँदा समूह ‘ए’ देखि ‘डी’सम्मका १६ वटै टोलीले २-२ खेल खेलिसकेका छन्। त्यस्तै समूह ‘ई’मा रहेका चार टोलीमध्ये २ टोलीले २-२ खेल खेलेका छन् भने आज शनिवार समूह ‘ई’का बाँकि दुई टोली र समूह ‘एफ’का चारवटै टोलीले प्रतिस्पर्धा गर्नेछन्।

एक साताको खेल सकिँदा अहिलेसम्म युरो कपमा भएका खेलहरुको समीकरण यस्तो रहेको छ।

समूह ए

समूह ‘ए’ मा इटालीले अहिलेसम्म उत्कृष्ट फुटबल खेलको छ। इटालीले दुई खेल खेल्दा दुवै खेलमा ३-० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ। इटालीले पहिलो खेलमा टर्की र दोस्रो खेलमा स्विटजरल्यान्डलाई आफ्नै घरेलु मैदान रोममा पराजित गरेको हो। समूह ‘ए’ को शीर्ष स्थानमा रहेको इटालीले अन्तिम १६ को यात्रा सुनिश्चित गरिसकेको छ भने आफ्नो अन्तिम समूह चरणको खेलमा वेल्ससँग प्रतिस्पर्धा गर्दैछ।

वेल्स पनि दुई खेलमा १ जित र १ बराबरीको नतिजा सहित दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा वेल्सले स्विट्जरल्यान्डसँग बराबरीको खेल खेल्दा दोस्रो खेलमा टर्कीलाई पराजित गरेको थियो।

 

 

समूह बी

समूह ‘बी’को शुरुवात एक दुःखद घटनाबाट भयो। फिनल्यान्डविरुद्ध डेनमार्कको खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन हृदयघातका कारण मैदानमै अचेत अवस्थामा पुगे। त्यस खेलमा फिनल्यान्डको टोलीले डेनमार्कलाई पराजित गर्यो। त्यस्तै बेल्जियमले पनि रसियालाई पहिलो खेलमा उसैको घरेलु मैदानमा ३-० गोलले पराजित गर्यो। समुह ‘बी’को दोस्रो खेलमा रसियाले फिनल्यान्ड लाई १-० गोलले पराजित गर्दा बेल्जियमले डेनमार्क माथि २-१ गोलको पुनरागमन जित निकाल्यो।

समूह ‘बी’को शीर्ष स्थानमा ६ अंक सहित बेल्जियम रहेको छ भने समान ३ अंक सहित रसिया र फिनल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

 

समूह सी

 

समूह ‘सी’ मा नेदरल्यान्डस्को टोली शानदार फुटबल खेल्दै नतिजा निकाल्न सफल भएको छ। नेदरल्यान्डस्ले दुई खेल खेल्दा दुवै खेलमा जित दर्ता गरेको छ। पहिलो खेलमा युक्रेनविरुद्ध निकै नै प्रतिस्पर्धात्मक खेलमा ३-२ गोलको जित निकालेको नेदरल्यान्डस्ले दोस्रो खेलमा अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको थियो।

समूह ‘सी’मै रहेको नर्थ म्यासेडोनिया भने समूहको अन्तिम स्थानमा रहेको छ। आफ्नो पहिलो प्रमुख प्रतियोगिता खेलिरहेको म्यासेडोनियाको टोलीले राम्रो खेलहरु खेले बावजूद दुवै खेलमा पराजय भोगेको छ। दुई खेलमा समान १-१ जित निकालेका युक्रेन र अस्ट्रिया क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

 

समूह डी

समूह ‘डी’को अहिलेसम्मकै हाईलाइट प्याट्रिक शिकको गोल रह्यो। स्कटल्यान्ड र चेक रिपब्लिक बिचको खेलमा चेकका स्ट्राइकर शिकले ४९.७ यार्ड परबाट गोल गरे।

दुई खेलमा एक जित र एक बराबरीको नतिजा निकालेको चेक गणतन्त्रको टोली समूह ‘डी’को शीर्ष स्थानमा रहेको छ। आश्चर्यजनक कुरा त समूह ‘डी’ को दोस्रो स्थानमा रहेको छ इङ्ल्यान्ड। आफ्नो घरेलु मैदानमा दुई खेल खेलेको इङ्ल्यान्डले पहिलो खेलमा क्रोएसियाविरुद्ध १-० गोलको जित दर्ता गर्न सफल भयो भने दोस्रो खेलमा छिमेकी राष्ट्र स्कटल्यान्डसँग गोलरहित बराबरी खेल्यो।

त्यस्तै समूह ‘सी’मै रहेको अर्को बलियो टोली क्रोएसिया तेस्रो स्थानमा रहेको छ। गत संस्करणको विश्वकप फुटबलको उप विजेता टोली क्रोएसियाको दुई खेलमा १ अंक रहेको छ भने चौथो स्थानमा रहेको स्कटल्यान्डको पनि १ अंक रहेको छ।

 

समूह ई

समूह ‘ई’ का चार मध्ये दुई टोलीले २-२ खेल खेलिसकेका छन्। अहिलेसम्म समूह ‘ई’ को शीर्ष स्थानमा स्वीडेन रहेको छ। दुई खेलमा ४ अंक बटुलेको स्वीडेनले पहिलो खेलमा बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। त्यस्तै दोस्रो खेलमा स्वीडेनले स्लोभाकियालाई १-० गोलले पराजित गर्न सफल भयो। समूह ‘ई’मा दुई खेल खेलेको अर्को टोली हो स्लोभाकिया।

स्लोभाकियाले पहिलो खेलमा पोल्यान्डविरुद्ध २-१ गोलको जित दर्ता गर्यो भने दोस्रो खेलमा स्वीडेनसँग पराजय भोग्यो। त्यस्तै समुह ‘ई’ मा एक एक खेल खेलेका स्पेन र पोल्यान्डले शनिवार राति एक अर्कासँग प्रतिस्पर्धा गर्दै छन्।

 

समूह एफ

समूह ‘एफ’ अर्थात् ‘ग्रुप अफ डेथ’को शुरुवात क्रिस्टियानो रोनाल्डोको कीर्तिमानबाट शुरू भयो। पोर्चुगल र हंगेरी बिचको खेलमा रोनाल्डोले २ गोल गर्दा पोर्चुगल ३-० गोलले विजयी भयो।

सो खेलमा गोल गर्दै रोनाल्डो युरो कप इतिहासकै सर्वाधिक गोलकर्ता पनि भए। त्यस्तै समूह एफ अन्तर्गतको अर्को खेलमा वर्तमान विश्वकप विजेता फ्रान्सले ४ पटक विश्वकप विजेता जर्मनीलाई पराजित गर्यो। जर्मनीका रक्षक म्याट हमल्सको आत्मघाती गोलका कारण फ्रान्सले जर्मनीविरुद्ध उसैको घरेलु मैदानमा जित दर्ता गर्न सफल भयो।

समूह ‘एफ’मा चारवटै टोलीले समान १-१ खेल खेल्दा पोर्चुगल शीर्ष स्थानमा रहेको छ भने समान ३ अंक रहेको फ्रान्स दोस्रो स्थानमा रहेको छ। समूह ‘एफ’ अन्तर्गत शनिवार दुई उपाधि दावेदार टोली जर्मनी र पोर्चुगल आमने सामने हुँदै छन् भने फ्रान्सले हंगेरीको सामना गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?