काठमाडौं । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि अर्को लामो पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कार्य शुरु भएको छ ।
सस्पेन्सन ब्रिज डिभिजनले बागलुङ नगरपालिका–४ उपल्लाचौर र पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ जोड्ने गरी लामो झोलुङ्गे पुल निर्माण गर्न अध्ययन थालेको हो ।
पुलको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न जिम्मेवारी पाएको सो कम्पनीले बुधवारदेखि काम थालेको छ । कम्पनीको प्राविधिक समूह अध्ययनका लागि बागलुङ आएको हो । “हामीले तीन महिनामा सबै काम सक्नेगरी काम थालेको र अहिले स्थलगत अध्ययनमा छौँ”, डिपिआरको जिम्मेवारी पाएका नेशनल सिनर्जी कम्पनीका इञ्जिनीयर विजय चौहानले भने, “५६७ मिटर लामो झोलङ्गे पुल बन्न सक्नेगरी अध्ययन गर्न अनुमति लिएका छौँ ।”
सिंगल स्पान प्रविधिको संसारकै लामो बाङ्गेचौर अदुवारी पुल निर्माण सफल भएपछि उपल्लाचौर नाग्लीवाङ जोड्नेगरी झोलङ्गे पुल निर्माणका लागि अध्ययन थालिएको सस्पेन्सन ब्रिज डिभिजनका सिनियर डिभिजनल इञ्जिनीयर हुमकान्त मिश्रले बताए ।
डिपिआर तयार भएपछि पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाने उनले जानकारी दिए । “यसअघि पनि यहाँ लामो पुल निर्माणका लागि अध्ययन भएको हो तर त्यतीबेला ३ सय ६० मिटरभन्दा लामो पुल बनाउन सकिने प्रविधि थिएन” उनले भने ‘त्यो समयको प्रविधि अनुसार पुल बनाउन सक्ने सम्भाव्यता नरहेको प्रतिवेदन आएको थियो ।” अहिले ५६७ मिटर लामो पुल बागलुङ र पर्वत जोड्नेगरी सफलतापूर्वक सञ्चालनमा रहेकाले पुनःअध्ययन थालिएको हो ।
पाङ अदुवाबारी लामो पुलको उद्घाटनकै समयमा उपल्लाचौर–नाग्लीबाङ पुल बनाउने घोषणा भएको थियो । पुलको उद्घाटनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उक्त पुल बनाउने घोषणा गरेका थिए । उनको निरन्तरको प्रयासपछि डिभिजनले दोस्रो पटक सम्भाव्यता अध्ययन गर्न थालेको हो ।
अध्ययनका लागि बागलुङ आएका प्राविधिक समूहले बुधबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र निर्वतमान प्रतिनिधिसभा सदस्य डा।सूर्य पाठकसँग छलफल गरेको छ । “सिधा आँखाले हेर्दा पाङ अदुवाबारीको पुलभन्दा छोटो दुरी नै छ, हामीले प्राविधिक समूहलाई सोही अनुसारको ठाउँ देखायौं” नगरप्रमुख पौडेलले भने, “यो पुल बहुआयामिक हुनेछ, निर्माण गर्नैपर्छ ।”
सो अवसरमा निर्वतमान सांसद पाठकले समयमा विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पुल निर्माणको ठेक्का प्रक्रियाका लागि सहयोग गर्न आग्रह गरे । उपल्लाचौर क्षेत्र र जलजला गाउँपालिकाकै घनाबस्ती रहेको नाग्लीबाङ गाउँ जोडिँदा सर्वसधारणको लागि धेरै सुबिधा हुने नगरप्रमुख पौडेलको भनाइ छ ।
यो पुल बन्दा नाग्लीबाङबाट कालीगण्डकी किनारमा निस्केर बागलुङ बजार उक्लिनुपर्ने बाध्यता अन्त्य हुनेछ । पुलले बागलुङ नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणलाई आउजाउ गर्न धेरै सहज हुने उनले बताए । “अहिले नेपाल सरकारले पक्की र झोलङ्गे पुल प्राथमिकतामा राखेको छ, त्यसैले बजेटको अभाव नहोला”, नगरप्रमुख पौडेलले भने, “डिपिआर तयार भएपछि तत्काल काम थाल्नुपर्छ ।”
कालीगण्डकी नदीमाथि पछिल्लो समय लामा पुल बन्ने क्रम बढेको छ । पर्वतको सदरमुकाम कुश्मा बजार र बागलुङको नारायणस्थान कुकुरगाडेमा अर्को पुल निर्माणका लागि समेत सरोकारवालाले दवाब दिइरहेका छन् । यो पुल बनेमा बागलुङ जिल्लाभित्र कालीगण्डकी नदीमाथि बनेका पुलको सङ्ख्या ५ पुग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया