‘भूउपयोग नीतिलाई कडाइका साथ लागू गरि खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्छ’

लोकपथ
182
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भूउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छिन् ।

शुक्रवार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तर्क्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भूउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएकी हुन् । उनले कृषिको सबैथोकमा छिट्टै आत्मनिर्भर हुनुपर्ने पनि बताइन् ।

भूउपयोग नीति लागु गर्दा खेतियोग्य भुमि शहरीकरण हुन रोकिने बताइन् । मन्त्री साहले किसानलाई सुचिकृत गरी राज्यको तर्फबाट दिइनुपर्ने सेवा सुविधा दिन मन्त्रालय चिन्तित रहेको पनि बताइन् । उनले भनिन्– ‘हाम्रो किसानहरुको सुचिकृत कहिलेसम्म गर्ने र कहिलेसम्म व्यवहारत्ः राज्यको तर्फबाट सुविधा पाउनुपर्ने । त्यो कहिलेसम्म मिलाउन सकिने हो । हामी सबै चिन्तित छौँ र मेहनतको साथअघि बढीरहेको अवस्था छ । चुनौती पनि उत्तिकै छ । भूउपयोगको नीति नीतिगत रुपमा लागु भएको छ । भूउपयोग नीति सायद कृषिकै हितमा पनि हुनेछ । आम किसानकै हितमा हुनेछ भन्ने मलाई विश्वास छ । भूउपयोग नीतिलाई कडाइका साथ लागु गरेर जाने हो भने सायद जग्गाहरु खण्डीकरण गरेर शहरीकरण गर्ने काम भइरहेको छ यसलाई रोक्नुपर्छ । यसलाई व्यवहारत्ः कडाइका साथ भुउपयोग नीति सँगसँगै कृषिमा जोड दिन अगाडी बढ्नु जरुरी छ ।’

मन्त्री साहले बेरोजगार युवाहरुलाई विदेश जानबाट रोक्नका लागि कृषिमा क्रान्ति ल्याउनुपर्ने बताइन् । कृषि क्रान्तिको लागि कुनै कसर बाँकी राख्नुनहुने उनले बताइन् । उनले भनिन्– ‘लाखौँ युवाहरु जो बेरोजगार भएर बसेर बाध्य भएर बाहिर गएका छन् । त्यसलाई रोक्नको लागि पनि कृषिमा क्रान्ति ल्याउनु जरुरी छ ।’

उनले माटोको परिक्षण गर्नका लागि ‘सोयल हेल्थ कार्ड’ को व्यवस्था गर्नु जरुरी रहेको बताइन् । सोयल हेल्थ कार्डको व्यवस्था गर्न सके कस्तो खालको माटो छ र त्यस अनुसार मलको प्रयोग गर्न सकिने उनको भनाई छ । मन्त्री साहले कृषि मन्त्रालयले दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?