इरानमा राष्ट्रपतिका लागि मतदान शुरु, कट्टरपन्थी उमेद्वारले जित्ने सम्भावना

लोकपथ
104
Shares

काठमाडौं । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रवार बिहानैदेखि मतदान शुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उमेद्वार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ ।

इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उमेद्वारी दिएका छन् । सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गरेकालेले उनी नै विजयी हुने मतसर्वेक्षणहरुले देखाएका छन् ।

केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनासेर हेमाटीलाई औसत एवं नरम उमेद्वार मानिएको छ ।

राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भए उनी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति हुनेछन् । राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो ।

मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका छन् । सर्वोच्च नेता खामेनीको अध्यक्षतामा रहेको उमेद्वार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उमेद्वार हुनबाट बन्चित गरेको थियो ।

सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका छन् । उनले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेका छन् ।

राष्ट्रपतिका प्रभावशाली उमेद्वार राइसीले दक्षिणी तेहरानको मस्जिदमा मतदान गरेका छन् । उनले पनि इरानका सबै योग्य नागरिकलाई मतदानमा भाग लिन आग्रह गरे ।

राइसीको उमेद्वारीलाई लिएर इरानका कतिपय नागरिकले असन्तुष्टी जनाएका छन् ।

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन् । तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ ।

यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?