नेता केसीको आह्वान : ‘राज्यले उदासिनता देखायो, सबै मिलेर विपद् व्यवस्थापनमा लागौँ’

लोकपथ
259
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विपद् न्यूनिकरणमा राज्यले उदासिनता देखाएको कारण सबै मिलेर त्यसको रोकथाम तथा न्यूनिकरणमा लाग्न आह्वान गरेका छन् ।

यसपालीको विपद् जोखिम अन्य वर्षहरुमा भन्दा बढी क्षतिपूर्ण रहेको मौसमविद्हरुले बताइरहँदा पनि राज्यले त्यसमा ध्यान दिन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

लोकपथसँग कुराकानी गर्दै नेता केसीले भने- ‘अहिले एकातिर कोभिडको महामारीबाट सम्पूर्ण नेपालीहरु पीडित छन् । अर्कोतिरबाट जुन किसिमको प्राकृतिक प्रकोपबाट ठूलो चुनौति खडा भएको यो स्थितीमा राज्यको सम्पूर्ण ध्यान जोखिम न्यूनिकरण र सतर्कता अपनाउन पर्ने हो तर त्यसमा कमजोरी देखिएकै छ । पीडितहरुको उद्दार, राहत र पुनस्थापनको निम्ति राज्यले युद्दस्तरीय तयारी गर्नुपर्ने र समाधान खोज्नुपर्ने अवस्था छ । अहिले सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज लगायत सम्पूर्ण व्यक्तिहरु एकिकृत भएर यो राहत र उद्दारमा आ(आफ्नो ठाउँबाट क्रियाशील हुनुपर्ने आवश्यक्ता छ ।’

विश्वभरिमा नै प्राकृतिक प्रकोपका हिसावले हामी १६ औँ स्थानमा राखिएपनि जोखिम न्यूनिकरणका लागि राज्य पूर्वतयारीको अवस्थामा बस्न नसक्नु नागरिकको दुर्भाग्य रहेको नेता केसीको भनाइ रहेको छ । भूकम्प जस्तो अनपेक्षित रुपमा नभइ पूर्ववत् जानकारी भएपनि राज्य मात्र त्यसको न्यूनिकरणमा नलागि राजनीतिक खिचातानीमा लागेर विपद् न्यूनिकरणमा नलाग्नु नागरिकहरुप्रतिको गैरजिम्मेवारीपन रहेको नेता केसीको आरोप रहेको छ ।

‘अहिले जुन किसिमको वर्खाको शुरुमै भीषण बाढी पहिरो आएको छ । हाम्रो देश विश्वभरिमा नै प्राकृतिक प्रकोपको कारण जोखिमयुक्त देश हो । विश्वमानै प्राकृतिक प्रकोप जोखिमका हिसावले हामी १६ औँ स्थानमा पर्छौँ । हाम्रा हिमाल पहाड तराई यसको भूबनोटको कारण प्राकृतिक रुपमा हामी एकदम एकदमै संवेदशील छौँ । यो अहिले मात्रै भएको होइन ।’ नेता केसीले भने । ‘भूकम्पको कुन बेला कसरी आउछ भन्ने हुन्न । तर यो बाढी पहिरोको हामीलाई पूर्व जानकारी पाइने प्रविधिहरु हुँदा पनि राज्य तयारी अवस्थामा नबस्नुले निरिहता बाहेक केहि प्रकट गर्दैन । त्यस्तो बिनासलाई रोक्नको निम्ती समयमानै जुन किसिमको गतिशिलता र जोखिम न्यूनिकरणको निम्ति गर्नुपर्ने प्रयास हो त्यसमा सरकार मौन देखियो । त्यतिमात्रै नभएर यसपाली त भयानक मौसमी बाढी पहिरो र प्राकृतिक प्रकोप झेल्नुपर्छ भन्ने पूर्व सूचना हुँदाहुँदै सरकारले त्यसमा उदासिनता देखाउनु कमजोरी हो ।’

नेपालका कतिपय जिल्लामा विपद्को हिसावले जोखिमयुक्त बस्ती रिक्स जोन समेत छुट्याइएको छ । तर सरकारले जोखिमयुक्त बस्तीहरुलाई बेलैमा सुरक्षित स्थानमा सार्न पहन नगुर्नले समस्याहरु पैदा भइरहेको छ । आगामी दिनमा त्यसलाई राष्ट्रिय नीतिनै बनाएर लैजानुपर्नेमा नेता केसीको जोड रहेको छ ।

‘कतिपय ठाउँहरुमा कतिपय जिल्लाहरुमा जोखिमयुक्त बस्ती भनेर ‘रिक्स जोनको आइडेन्टीफाई‘ पनि भैसकेको हो । तिनीहरुलाई ‘रिक्स जोन‘बाट समयमानै सार्ने कुरामा पटक्कै हाम्रो राष्ट्रिय नीति र ध्यान गएन । आगामी आगामी दिनमा पनि त्यसलाई राष्ट्रिय नीति नै बनाएर लैजान सके मात्र नागरिको जीउ ज्यानको सुरक्षा गर्न सकिन्छ ।’ नेता केसीले भने। ‘भर्खरैमात्रै सिन्धुपाल्चोकमा भयावह रुपमा जनधनको क्षति भएको छ । त्यसको साथसाथै नभएर मनसुनको शुरुवातीमै म्याग्दी, मनाङ, पर्वत, कैलाली, रसुवा र बुटवल (रुपन्देही) लगायतका पहाडी जिल्लाहरुमा अन्त्यन्त कष्टकर अवस्था रहेको छ । यो वर्षका लागि यो त प्रारम्भ मात्रै हो । यो स्थिती वर्खामा कहाँकहाँ के के हुन्छ भन्ने कुरा अहिले नै भविष्यबाणी गर्न सकिने स्थिती पनि छैन । जुन दुखद स्थितिहरु सिर्जना हुने अवस्थाहरु आउँन सक्छ । त्यसमा समयमा नै राज्यले ध्यान दिनुपर्ने सुझाव दिन चाहान्छु ।’

विपद्का बेला राजनीतिक दलहरुले गाउँगाउँबाट आफ्ना पार्टीपंक्तिलाई परिचालन गर्न सके मात्र जोखिम न्यूनिकरणका लागि सहज हुनेमा जोड दिएका छन् । त्यस्तै उच्च जोखिममा रहेका वस्तीहरुलाई समयमानै अन्यत्र सारि नागरिकको जीउ ज्यानको सुरक्षामा लाग्न सरकारसँग आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीबाट सम्पूर्ण तमाम कार्यकर्ताहरुलाई क्रियाशील रहन आह्वान गरिसकिएको छ । यो स्थिती थाहै नपाई आएको स्थति होइन । हाम्रो भौगोलिक संवेदनशीलता, हाम्रो भूबनोट र यो भन्दा अगाडी हाम्रा योजनाहरु जुन ढंगले वैज्ञानिक विश्लेषण र आधारको ढंगबाट जसरी बाटोघाटो निर्माणमा हामीले भूबनोटलाई खलबल्याएर हामीले ध्यान दिन सकेनौँ । उच्च जोखिम भएका ठाउँहरुलाई समयमानै अन्यत्र सार्नुपर्ने प्राथमिकताको आधारमा सार्नुपर्ने कुरा हो त्यसैले सम्पूर्ण राष्ट्रको ध्यान जानुपर्नेमा जोड दिनुपर्छ ।’ नेता केसीले भने ।

नेता केसीले विपद्बाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?