विश्व टेस्ट च्याम्पियनशिप फाइनल आजबाट

काठमाडौं । ‘विश्व टेस्ट च्याम्पियनशिप’ अन्तर्गतको फाइनल खेल आज ‘शुक्रवार’बाट शुरू हुँदैछ।

इङ्ल्यान्डको साउथह्याम्पटनस्थित ‘दि रोज बल’ मा ‘जुन १८-२२’ सम्म संचालन हुने फाइनल खेलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। दुई वर्षसम्म चलेको विश्व टेस्ट च्याम्पियनशिपमा न्युजिल्यान्ड र भारत शीर्ष दुई टोली बन्दै उपाधिको लागि आमने सामने हुँदैछन्।

सो फाइनल खेलका लागि भारत र न्युजिल्यान्डको टोलीले आफ्नो अन्तिम अभ्यास पूरा गरिसकेका छन्। अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ ले टेस्ट च्याम्पियनशिप को विजेता टोलीले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने जानकारी पनि दिइसकेको छ।

उक्त फाइनल टेस्ट खेलको लागि भारतले आफ्नो ‘शुरुवाती ११’ को नामावली पनि सार्वजनिक गरिसकेको छ। भारतका लागि रोहित शर्मा र शुबमन गिल ले पारी खोल्नेछन् भने ‘मिडल अर्डर’ ब्याटिङ को जिम्मेवारी चेतेश्वर पूजारा, अजीनक्य राहाने र कप्तान विराट कोहली आफैंले सम्हाल्नेछन्।

त्यस्तै विकेट किपरको भुमिकामा ऋषभ पन्त देखिने छन् भने रवि आश्विन र रवीन्द्र जडेजालाई स्पिन बलिङ को जिम्मेवारी दिइएको छ। भारतका लागि तीन तिब्र गतिका बलरको रूपमा जस्प्रीत बुमराह, मोहम्मद शमी र भेट्रान खेलाडी इशान्त शर्मा मैदानमा देखिनेछन्।

नेपाली समय अनुसार अपरान्ह ३:१५ बजे शुरु हुने फाइनल खेलमा अम्पायरहरु इंग्ल्याण्डका माइकल गोफ र रिचार्ड इलिङवर्थ हुने पक्का भएको छ भने ‘थर्ड अम्पायर’को भूमिकामा इङ्ल्यान्डकै रिचार्ड केटेलबोरो देखिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?