लामो समयदेखि कीर्तिपुरमा गुमानाम बागवानी

लोकपथ
70
Shares

काठमाडौं । धेरैलाई थाहा छैन होला काठमाडौं उपत्यका भित्र फलफूलको ठुलो बागवानी छ भनेर । काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेलमा छ ।

२०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएरपनि खुम्चेर बसेको छ ।

नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफूलको प्रसारको लागि बिउ, बेर्ना, विरुवा, उत्पादन गर्ने भएपनि सरकारको प्राथमिकतामा क्रमशः खुम्चदो छ । अंगुर, नासपाती, आरु, किवी, एभाकाडो, हलुवावेद, अम्बा, बयर तथा सुन्तला जातका फलफूलको ५० भन्दा बढी जातका फलफूलको विरुवा यस केन्द्रले उत्पादन गर्दै आएको छ । यस केन्द्रमा उत्पादन हुने जापनिज नास्पाति र वाइनको लागि राम्रो मानिएको स्टुवेन अंगुर विशेष रहेका छन् । यस्तै यो केन्द्रले मुख्यगरी विरुवा उत्पादन गरेर कृषक तथा व्यवसायीहरुलाई बिक्रि वितरण गर्दै आएको केन्द्रकी सुचना अधिकारी सरिता गौतमले बताइन् ।

यति धेरै सम्भावना र महत्व भएको बागवानी केन्द्र अहिले अतिक्रमणमा परेको छ । स्थापना कालमा करिब ४०० रोपनीमा फैलिएको यो केन्द्र सरकारी निकायको कार्यालय, सडक लगायतले क्रमशः अतिक्रमण गर्दै गएका छन् । काठमाडौं उपत्यका नजिक रहेको ठुलो क्षेत्रफलमा सबैको आँखा जानु स्वभाविक हो । ४०० रोपनीमा फैलिएको यो बागवानी केन्द्र अहिले २७५ रोपनीमा खुम्चन पुगेको छ । सरकारले यसको महत्वलाई नबुझ्ने र प्राथमिकतामा नराख्ने हो भने खुम्चिएर सकिन बेर लाग्दैन ।

काठमाडौं लगायतका मध्यपहाडी क्षेत्रमा समशितोष्ण जलवायुमा उपयुक्त हुने फलफुलको विरुवा उत्पादन गर्न यो केन्द्रको प्रचार–प्रसार र क्षमता वृद्धि गर्न आवश्यक छ । बजारको अभाव नभएको तर माग अनुसार उत्पादन दिन नसकिएको यो समयमा यस्ता बागवानी केन्द्रको भुमिका अहम् हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?