युरो कप खेल १५ : इटाली युरो कपको अन्तिम १६ मा

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समुह ‘ए’को दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

इटालीको राजधानी रोममा १२,४४५ समर्थक माझ इटालीले स्विट्जरल्यान्डमाथि शानदार जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ। पहिलो हाफको २६औं मिनेटमा नै इटालीले खेलमा अग्रता लिएको थियो।

डोमिनिको बेरार्डिको पासमा म्यानुवेल लोकाटेलीले गोल गर्दा इटालीले खेलमा अग्रता लिएको थियो। दोस्रो हाफको ५२औं मिनेटमा इटालीले खेलमा अर्को गोल थप्यो। यसपाली निकोला बरेलाको पासमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए।

बल पोसेसन दुवै टोलीले बराबर राखेपनि इटालीले खेलमा कुल १३ शट प्रहार गरेको थियो। फलस्वरूप खेलको ८९औं मिनेटमा इटालीले तेस्रो गोल थप्यो। स्ट्राइकर सिरो इम्मोबिलेले रफाएल टोलोईको पासमा गोल गर्दै इटालीलाई ३-० को जित दिलाए।

यसै बिच जारी युरो कप २०२० को अन्तिम १६ मा स्थान पक्का गर्ने पहिलो टोली इटाली बनेको छ। पहिलो खेलमा टर्कीलाई पनि ३-० गोल अन्तरले पराजित गरेको इटालीको २ खेलमा ६ अंक रहेको छ। शीर्ष स्थानमा रहेको इटालीले अब समुह चरणको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको वेल्सको सामना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?