मुआब्जा वितरणको लागि जग्गाको मूल्य निर्धारण छिटो टुंग्याउन मन्त्री नेम्वाङको निर्देशन

लोकपथ
77
Shares

काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले काँकडभित्ता–इनरुवा खण्डको रेल मार्ग निर्माण लाई गति दिन मुआब्जा वितरणको लागि जग्गाको मूल्य निर्धारण छिटो टुंग्याउन निर्देशन दिएका छन् ।

मन्त्री नेम्वाङले मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभित्ता–इनरुवा खण्ड निर्माणलाई गतिदिन झापा, सुनसरी र मोरङ्गका प्रमुख जिल्ला अधिकारीहरु, रेल विभागका महानिर्देशक र आयोजना प्रमुखसँग छलफल गर्दै मुआब्जा वितरणको लागि जग्गाको मूल्य निर्धारण चाडो टुंग्याउन निर्देशन दिएका हुन् ।

उनले मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि स्रोत सुनिश्चित भइसकेको बताए । उनले भने, ‘राष्ट्रिय योजना आयोगबाट बहुवर्षिय योजना स्वीकृत भइसकेको छ । आगामी आर्थिक बर्षका लागि १० अर्ब बजेट विनियोजन भएको छ । आवश्यक रकम थप्नु पर्यो भने सरकारले कुनै कसर बाँकी राख्दैन ।’

मन्त्री नेम्वाङले दोहोरो स्वमित्व भएको जग्गा बारेमा भूमिसम्बन्धि समस्या समाधान आयोगले निकास दिने बताए । यस्तो समस्या भएको ठाउँमा मालपोत, नापी र स्थानीय निकायसँग व्यवहारिक छफफल गरेर मात्र मुआब्जा वितरण गर्नुपर्ने उनको भनाई छ । उनले रेलवे निर्माण गर्दा आउन सक्ने समस्यालाई उचित ढंगले समाधान गर्नुपर्नेतर्फ सरोकारवाला सबैको ध्यानाकर्षण समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?