विपक्षी खेलाडीलाई अपमान गरेका अरनौटोभिच प्रतिबन्धित

काठमाडौं। अस्ट्रियाका स्ट्राइकर मार्को अरनौटोभिच ‘दुर्व्यवहार’को आरोपमा आगामी खेलका लागि प्रतिबन्धित भएका छन्।

जारी युरो कप २०२० अन्तर्गत अस्ट्रिया र नर्थ म्यासेडोनिया बिच भएको खेलमा उनले गोल गरेपछि विपक्षी टोलीका खेलाडीलाई अपमान गरेर खुशी मनाएका थिए। सर्बियन मूलका अरनौटोभिचले नर्थ म्यासेडोनियाका दुई खेलाडी ‘एगजन बेटुलाई’ र ‘एजगजान आलियोस्की’लाई लक्षित गर्दै जातीय अपमान गरेका थिए।

बेटुलाई र आलियोस्की अलबेनियन मूलका खेलाडी भएका कारण अरनौटोभिचले जातीय अपमान गरेका थिए। सो क्षणमा अस्ट्रियाका कप्तान डाविड अलाबा आएर उनलाई रोक्नु परेको थियो।

नर्थ म्यासेडोनिया फुटबल संघले ‘युईएफए’लाई अरनौटोभिच माथि कडा भन्दा कडा सजाय दिन औपचारिक पत्र पठाएपछि ‘युईएफए’ले त्यस विषयमा अनुसन्धान शुरु गरेको थियो। अनुसन्धान पछि ‘युईएफए’ले उनलाई दुर्व्यवहारको आरोपमा एक युरो कप खेलमा प्रतिबन्ध लगाएको छ। सो कारण अरनौटोभिचले नेदरल्याण्ड्सविरुद्धको खेल गुमाउने निश्चित भएको छ।

अरनौटोभिचले आफ्नो गल्ति स्वीकार्दै माफी पनि मागिसकेका छन्। उनले सार्वजनिक रूपमा आफ्नो गल्ति स्वीकार्दै माफी मागेका हुन्। “मेरो गल्ती थियो, मैले स्वीकारेको छु”, उनले भने। “युवा पुस्ता र पिडीको लागि प्रेरणाको स्रोत बन्न चाहन्छु, आइन्दा यस्तो हुनेछैन”, उनले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?