किन बढ्दैछन् बलात्कारका घटना ?

पछिल्लो समय बलात्कारका घटना तीव्र रुपमा बढिरहेका छन् ।

प्रत्येक आर्थिक वर्षमा घटनाहरु बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

जसमध्ये आर्थिक अवस्था कमजोर भएका, विपन्न, अपाङ्गता भएका, नाबालिका, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको शिकार हुने गरेका छन् ।

प्रहरी अनुसन्धानमा विभिन्न लोभ लालच, डर, धम्की देखाएर बलात्कार गर्ने गरेको खुलेको छ । रक्षा नेपाल, माइती नेपाल, मानव अधिकार तथा शान्ति समाज लगायतका विभिन्न संघ संस्थाहरुले बलात्कारका विरुद्ध आवाज उठाउनुका साथै विभिन्न सचेतनात्मक कार्यक्रमहरु गर्दै आएका छन् ।
प्रहरीले विभिन्न जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । तर बलात्कारका घटनाहरु भने निरन्तर बढिरहेका छन् । प्रहरीले बलात्कारका विरुद्धमा लगातार कारवाही अगाडि बढाएको छ भने कानुनी व्यवस्था पनि थप कडा गरिएको छ । तर पनि बलात्काका घटनाहरु घट्नुको साटो वृद्धि भइरहेका छन् ।

बढेको किन हो ?

बलात्कारका घटना हुने बित्तिकै हल्ला खल्ला हुने र प्रहरीमा उजुरी भइहाल्ने भएकोले कार्वाहीको दायरा पनि बढेको छ । जसले गर्दा बलात्कार गर्नेहरुलाई हदैसम्मको कारवाही भएको छ । तर पनि बलात्कारका घटना पटक्कै घटेका छैनन् । आखिर किन घटेनन् ?
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुवँरका अनुसार, बलात्कारको मोडल परिवर्तन भएको छ, त्यसैले घटेनन् । नचिनेका र नाता नपर्नेलाई बलात्कार गर्दा इज्जत जाने देखि कडा करवाहीमा परिने भएकाले बलात्कारीले नाताभित्र आँखा लगाउने गरेको प्रवक्ता कुवँर बताउँछन् ।
पछिल्लो समय कडा कानुन तथा जनचेतनाका कारण बलात्कारका घटना धमाधम बाहिरिने तथा दोषीलाई कारवाही हुने भएपछि उनीहरुले आफन्त र घरपरिवारकै चेलीहरुमाथि आँखा लगाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । साथै त्यस्ता घरपरिवारभित्रै भएका बलात्कारका घटना बाहिर ल्याउन पनि समस्या हुने गरेको छ । “नाताभित्र भएपछि इज्जतको डरले नभन्ने हुँदा कमै मात्रामा घटना बाहिर आउने गरेका छन्” प्रवक्ता कुँवरले भने ।

यस्ता घटना हाम्रो सामाजिक संरचनाका कारण निकै कम मात्रै बाहिरिने गरेको प्रहरीको भनाई छ ।

भयावह तथ्यांक

विगत चार वर्ष यताको तथ्यांक हेर्ने हो भने बलात्कारका घटनाहरु कहानी लाग्दो गरी बढिरहेको देखिएको छ । प्रहरीको तथ्यांकअनुसार २०७४/७५ मा १ हजार ४ सय ६९ वटा बलात्कारका घटना भएका छन् । जसमा २०७ वटा बलात्कारका घटना काठमाडौं उपत्यकामा मात्रै भएका छन् ।

२०७५/७६ मा १ जार ९ सय ३९ वटा बलात्कारका घटना भएका छन्,जसमा उपत्यकामा मात्रै ३ सय ३३ वटा यस्ता घटना भएको प्रहरी तथ्यांकले देखाएको छ ।

२०७६/७७ मा १ हजार ८ सय ८ वटा बलात्कारका घटना भएको प्रहरी तथ्यांकले देखाएको छ जसमा २ सय ९६ वटा घटना उपत्यकामा मात्रै घटेका छन् ।
२०७७/७८ को वैशाख महिनासम्म १ हजार १ सय १४ वटा बलात्कारका घटनाहरु भएका छन् जसमा काठमाडौं उपत्यकामा मात्रै ९७ वटा घटना भएका छन् ।  यस्ता घटनामा संलग्न परिवार भित्रका सबैभन्दा बढी छन् ।

सामाजिक संजालको भूमिका

पछिल्लो समय आममानिसले समाजिक संजाललाई हरेक विषय सार्वजनिक गर्ने थलो बनाएका छन् । सामाजिक संजालका माध्यममबाट सहि समयमा सहि जानकारी तथा सूचना पनि प्राप्त गर्न सकिन्छ । तर यही सामाजिक संजालको दुरुपयोग गर्दा बलात्कार,हत्या,ठगी,अपहरण लगायतका विभिन्न खालका अपराधहरु भइरहेकोे प्रहरी निष्कर्ष छ ।

सामाजिक संजालमार्फत चिनजान गर्ने,भेट गर्ने,कतिपयको त्यसैका माध्यमबाट विवाह हुने सम्म हुन्छ । कतिपयले विवाह अगावै शारीरिक संबन्ध बनाइसकेका हुन्छन् । तर मनमुटाव बढ्दै गएपछि बलात्कार भयो भनेर उजुरी गर्न आउनेको पनि कमी नभएको प्रहरीको भनाई छ ।

प्रविधी र बलात्कारको अन्तरसम्बन्ध

बलात्कारका घटना बढ्नुका विभिन्न कारणमध्ये पोर्नोग्राफी पनि एक महत्वपूर्ण कारण हो । इन्टरनेटको दुरुपयोग गर्ने गरेका कारण बलात्कारका घटना बढिरहेका छन् । विद्युतीय संञ्चारमार्फत महिलामाथि यौनजन्य दुव्र्यव्यहारका घटना बढेका छन् ।

प्रविधिको विकासलाई गलत तरिकाले प्रयोग गर्दा महिला तथा बालिका यौनजन्य हिंसाको शिकार भएका छन् । युवायुवतीबीच भेटघाट हुने, भावनात्मक तथा अन्तरङ्ग कुराकानी हुने, निकटता बढ्दै जाने, आपसमा विभिन्न कुराहरु साटासाट हुने गर्छन् । तर सम्बन्धमा खटपट भएपछि यौनशोषण गर्ने प्रवृत्ति बढेको प्रहरी अनुसन्धानले देखाउँछ ।

किशोरी तथा बालिकालाई ‘ब्लुफिल्म’ देखाउने र बलात्कार गर्ने घटनाहरु पनि प्रशस्त मात्रामा हुने गरेको प्रहरीको भनाई छ ।

कसरी गर्ने न्युनिकरण ?

बलात्कार जस्तो जघन्य अपराधबाट बच्न सबैभन्दा पहिले हरेक घरपरिवार तथा समाजमा चेतना विकास हुनु जरुरी छ । जसले गर्दा छोरीचेलीलाई बलात्कारका घटनाबाट बचाउन सकिने प्रहरीको बुझाई छ । हरेक घर तथा समाजमा बलात्कार विरुद्धका अभियानहरु चलाउनुपर्नेमा प्रहरीको जोड छ ।

त्यसका साथै बलात्कारका घटना घटिहाले पनि त्यसलाई गुपचुप नराख्ने र त्यस्ता घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराउँदा यस्ता घटनालाई कम गर्न सकिने प्रहरीको दाबी छ । प्रहरीले मात्रै प्रयास गरेर अथवा कारवाही गरेर मात्रै बलात्कारका घटना कम गर्न नसिकने प्रवक्ता कँुवर बताउँछन् । त्यसका लागि घरपरिवार,बुद्धिजीवि,नागरिक समाज,सरकार सबैको हातेमालो गरेर मात्रै कम गर्न सकिने कुँवरको भनाई छ ।

परिवारमा भएका बलात्कारका घटना गुपचुप

चिनेजानेका र नाता नपर्नेबाट भएका बलात्कारका घटनाहरु बाहिर ल्याउन सजिलो भएपनि आफ्नै परिवारका सदस्यहरु बुवा,हजुर बुवा,दाइ,भाइ,काका,मामा लगायबाट हुने गरेका बलात्कारका घटनाहरु बाहिर ल्याउन चुनौती भएको प्रहरीको भनाई छ ।

आफन्त तथा हाडनाताभित्र हुने बलात्कारका घटनाहरु इज्जत जाने डरले अधिकांश परिवारले बाहिर निकाल्नै चाहँदैनन् । त्यसैले प्रहरीसम्म आइपुग्न निकै समस्या हुने गरेको छ । यस्ता घटना बाहिर ल्याउन परिवारका सदस्यको महत्वपूर्ण भूमिका हुने प्रहरीको भनाई छ ।
यस्तो छ कानुनी व्यवस्था

नेपालमा बलात्कार तथा यौन जन्य अपराधका संबन्धमा विभिन्न कानुनी व्यवस्था छन् । २०७२ मा नेपालको संविधानको घोषणा भयो । त्यसपछि २०७४ मा मुलुकी अपराध संहिता २०७४ जारी भयो । यस ऐनमा स्पष्ट रुपमा कसैले जबर्जस्ती करणी गर्न नहुने उल्लेख छ ।

यस ऐनमा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।

तर बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । त्यस्तै,मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआइभी पोजिटिभ) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए दफा १०५ बमोजिमको सजाय,अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ ।

१० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुने कानुनी व्यवस्था छ ।

१० वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे २० बर्षसम्म कैद हुने ब्यवस्था कानुनमा छ । १४ वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद हुने ब्यवस्था छ । १६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म,१८ वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्र्षसम्म कैदको व्यवस्था ऐनले गरेको छ ।

सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?