काठमाडौँ, ८ चैत -तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ?यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दीभन्दा बढी भएका १६ कर्मचारीलाई ६ देखि १४ महिनासम्मको तलब दिइएको छैन । तरपनि, कर्मचारी गुनासो नगरी खुरुखुरु काम गरिरहेका छन् । यति लामो समयसम्म तलब नपाउँदा पनि कर्मचारी किन काम गरिरहेका छन् त ? निमित्त कार्यालय प्रमुख प्रेमबहादुर देसार भन्छन्, ‘यो त बाध्यता हो ।’कार्यालय प्रमुख देसारका अनुसार स्थानीय तहमा खटाइएका कर्मचारी पनि सरुवा बदर गराएर फर्किएका छन् । ‘केही कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेर यहाँ नयाँ कर्मचारी पठाएको थियो,’ उनले भने, ‘सामान्यले पठाएका नयाँ पनि आए र सरुवा गरिएका पुराना पनि फर्किए । त्यसो हुँदा धेरै कर्मचारी भएका हुन् ।’ देसारका अनुसार कार्यालयबाट स्थानीय तहमा गरिएको कर्मचारीको सरुवा सचिव मोहनकृष्ण सापकोटाले बदर गराइदिएका थिए ।यसैगरी, काजसरुवा गरेर आएका कर्मचारी तीन महिना अवधि सकिएपछि पनि नफर्किएको कार्यालयले जनाएको छ । निजामती सेवा ऐनअनुसार काजसरुवा भएका कर्मचारी तीन महिना पूरा भएपछि साबिककै कार्यालयमा हाजिर हुनुपर्ने हुन्छ । तर, वैदेशिक रोजगार कार्यालय ताहचलमा भने वर्षौँदेखि तलब नपाए पनि काजका कर्मचारी कार्यरत छन्, नयाँ पत्रिकाले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया