देशभर बाढी र पहिरोको कस्तो छ अवस्था ? (विवरणसहित)

लोकपथ
329
Shares

काठमाडौं । अविरल वर्षाको कारण आएको पहिरो र बाढीमा परि मानिसको मृत्यु तथा बेपत्ता भएका छन् । वर्षाको कारण पाल्पा, सिन्धुपाल्चोक, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन ,नवलपरासी(पूर्व) र बाजुराका केही स्थानहरुमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थानहरु डुबानमा परेका छन् ।

पाल्पाको रिप्दीकोट गाउँपालिका-४ सिलाङ्थोकस्थित मन्छीप बस्ने मान बहादुर भन्ने महेन्द्र भट्टराईको घरमा मंगलवार साँझ पहिरो जाँदा उनकै छोरा १९ वर्षीय मदन भट्टराइको पहिरोमा पुरिएर मृत्यु भएको छ । उनको घरमा पहिरो गई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । पहिरोबाट महेन्द्रको घर पूर्णरुपमा क्षति भएको छ ।

यसैगरी, पाल्पाको तानसेन नगरपालिका-८ जरेपिपलस्थित सिद्दार्थ राजमार्ग, तानसेन नगरपालिका-८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्ग र रिप्दीकोट गाउँपालिका-३ हार्थोक नजिक पाल्पा-गुल्मी सडकखण्डमा अबिरल बर्षाको कारण मंगलवार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ स्थित मेलम्ची खोलामा मंगलवार आएको बाढीले सोही गाउँपालिका-१ स्थित रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका-७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका-१० र ११ जोड्ने पक्की पुल बगाएको छ ।

साथै, हेलम्बु गाउँपालिका-२ किउल बस्ने ३१ वर्षीय माधव भण्डारी सहित ७ जना सम्पर्कमा नरहेकोले प्रहरीले खोजी गरिरहेको छ । बाढीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

मनाङको चामे गाउँपालिका-४ र नासो गाउँपालिका-३ स्थित अबिरल वर्षाको कारण मंगलवार दिउँसो आएको बाढीले चामे गाउँपालिका-४ मा रहेको जिल्ला हुलाक कार्यालयको भवन, ६ वटा घर, सोही ठाउँस्थित रहेको घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल, निमार्णाधिन आमा समूहको भवन पछाडिको भाग, २ वटा तातोपानी कुण्ड र नासो
गाउँपालिका-३ बस्ने शेर बहादुर गुरुङको घर बगाएको छ । बाढी आई घरहरु बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले चामेका ३० घरका ३ सय जनालाई जिल्ला कारागारमा स्थानान्तरण गर्नुका साथै नासो गाउँपालिका-१ का ४८ घरका ३ सय जनालाई सुरक्षित स्थानमा सारेको छ ।

लमजुङको दोर्दी गाउँपालिका-८ हिलेबजारमा अबिरल वर्षाको कारण दोर्दी खोलामा मंगलवार दिउँसो आएको बाढीले चतुरे बिक लगायत ७ जनाको घर बगाउएको छ भने २ वटा घर जोखिममा परेका छन् । प्रहरी चौकी चितीको प्रहरीले घर परिवारलाऐ सुरक्षित स्थानतर्फ सारेको छ । साथै सोही गाउँपालिका-६ कृतिपुर बस्ने कृष्ण घलेको कुखुरा फर्म बगाउनुका साथै सुप्पर दोर्दी हाईड्रो पावरको ड्याममा समेत क्षती पुर्‍याएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-३ फुतवाङस्थित गोरुसिंगे(सन्धिखर्क सडकमा मंगलवार राति पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

गुल्मीको रेसुङगा नगरपालिका-१३ भगेरी भन्ने ठाउँमा मंगलबार पहिरो झरी रिडी तम्घास सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका-६ देउरालीस्थित हेटौंडा भिमफेदी कुलेखानी सडक-खण्डमा मंगलवार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले सडकखुलाउने आवश्यक पहल गरिरहेको छ ।

चितवनको भरतपुर महागरपालिका-३ बारघरे, सोही महानगरपालिका-१६ गुम्बाचौर र झनझनेस्थित अबिरल बर्षाको कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा बारघरेको ३० घरधुरी, झनझनेको १ सय ५० घरधुरी र गुम्बाचौरको ३० घरधुरीलाई सुरक्षित स्थानतर्फ स्थान्नतरण गरेको छ ।

नवलपरासी(पूर्व)को गैंडाकोट नगरपालिका-२ बोटे टोलमा नारायणी नदीमा मंगलवार राति आएको बाढी पस्दा प्रभावित भएका करिब १ सय ५० घरधुरीका परिवारलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ स्थान्तरण गरेको छ ।

बाजुराको बुढीन्नदा नगरपालिका-४ बस्ने जयबिर धामी र मने रोकायाको घर सोही ठाउँस्थित घोडाकोटी खोलाले कटान गरी बगाएको छ । उक्त घरका परिवार र जोखिममा रहेका १३ बटा घरका मानिसलाई सुरक्षित स्थानमा सरिसकेका छ ।

ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार तथा खोजी कार्य गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?