काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर बाढी पहिरोका कारण भइरहेको क्षति न्यूनिकरणका लागि लाग्न पार्टीपंक्तिलाई निदेर्शन दिएका छन् ।
त्यसैगरी देशका विभिन्न ठाउँमा बाढी पहिरोबाट प्रभावित नागरिकलाई उद्धार, राहत र हराएकाहरुको खोजीमा लाग्न सरकारसँग माग गरेका छन् ।
सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोकको चौतारा र हेलम्बु, मनाङ, कास्की, गोरखा लगायतका जिल्लाहरुमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउँदै उद्धार राहतमा लाग्न आग्रह गरेका हुन् ।
‘सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी उद्धार राहतमा जुट्नका लागि स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक लाग्नका लागि निर्देशन दिइसकेको समेत बताएका छन् । स्थानीय प्रशासन तथा पार्टी पंक्तिलाई विपत्तीको अवस्थामा संयमित भइ जुट्नको लागि आग्रह गरेका छन् ।
सभापति देउवाले भने- ‘स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको छ । पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु ।’
साथै बाढी पहिरोका घटनाबाट भोलिका दिनमा हुनसक्ने जोखिमलाई कम गर्न तीनै तहका सरकारलाई उचित तवरले काम गर्न समेत आग्रह गरेका छन् ।
मंगलवारदेखि सिन्धुपाल्चोक लगायत देशका विभिन्न जिल्लाहरुमा आइरहेको बाढी पहिरोका कारण जनधनको क्षति भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया