बेपत्ता महिलाको शव भेटियो, १३ वर्षीय बालक अझै बेपत्ता

लोकपथ
105
Shares

काठमाडौं । लगातार अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी बाजुरा जिल्ला बूढीनन्दा नगरपालिका–३ लौठीरुखकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नगरपालिकामा रहेको बड्डीगाड खोलाले बगाउँदा सोही नगरपालिका–३ की मोतीकला ल्वारको शव करिब २० किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धनदेव साउदले जानकारी दिए ।

बेपत्ता महिलाको स्थानीयवासी र प्रहरीले खोजी गर्दा बड्डीगाड खोलाको कालसिलमा फेला पारेको प्रहरी निरीक्षक साउदले बताए । महिलाको शव कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा परीक्षण गरी आफन्तलाई बुझाइएको उनले बताए ।

सोमवार त्रिवेणी नगरपालिका–५ किम्नीमा खोलाले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेका छैनन् । गाउँ नजिकै रहेको किम्नीखोलाले बगाउँदा बेपत्ता भएका बालकको प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेको प्रहरी निरीक्षक साउदले बताए ।

घटनास्थलमा प्रहरीको टोली र स्थानीयवासीले खोजी गरिरहेका छन् तर अहिलेसम्म पनि बालकको शव फेला परेको छैन । जिल्लामा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । वर्षाका कारण राजमार्ग सडक र ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?