नयाँ दिन, नयाँ कीर्तिमान

क्रिस्टियानो रोनाल्डो

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गए राति केही नयाँ कीर्तिमानहरु रचेका छन्।

जारी युरो कप २०२० अन्तर्गत गए राति सम्पन्न पोर्चुगल र हंगेरी बिचको खेलमा रोनाल्डोले २ गोल गर्दै आफ्नो टोलीलाई जितको बाटो डोर्‍याए। युभेन्टसका स्टार खेलाडी तथा ग्लोबल आइकन रोनाल्डोले मंगलवार सम्पन्न हंगेरीविरुद्धको खेलमा केही नयाँ कीर्तिमान पनि रच्न सफल भए।

रोनाल्डो र नयाँ कीर्तिमानको सम्बन्ध पछिल्लो समयमा निकट हुँदै आएको छ। विश्वकै उत्कृष्ट मध्येका एक खेलाडी रोनाल्डोले राष्ट्र तथा क्लब दुवैको लागि विगत १९ वर्ष देखि लगातार शानदार फुटबल खेल्दै आएका छन्।

यसैबिच हंगेरीविरुद्धको शुरुवाती ११ मा परेर रोनाल्डोले गए राति पहिलो कीर्तिमान रचे। उनी ५ युरो कप प्रतियोगिता खेल्ने एकमात्र खेलाडी भएका छन्। त्यस्तै हंगेरीविरुद्ध गोल गरेर रोनाल्डोले अर्को महत्वपूर्ण कीर्तिमान रचे।

८७औं मिनेटमा रोनाल्डोले प्रहार गरेको पेनाल्टीले जाली चुम्दा उनी युरो कपकै सर्वाधिक गोल कर्ता बन्न पुगे। सन् १९८४ मा फ्रान्सका सुपरस्टार खेलाडी ‘मिचेल प्लेटिनी’ले रचेका कीर्तिमान रोनाल्डोले ३७ वर्ष पछि तोडेका छन्। प्लेटिनीले सन् १९८४ को युरो कपमा ९ गोल गरेका थिए जसमा दुई ह्याट्रिकहरु सम्मिलित थिए।

रोनाल्डोले गए राति गरेको पहिलो गोलले नै उनलाई प्लेटिनी भन्दा माथि लिएर गयो। तर उनी त्यतिमा मात्रै सन्तुष्ट कहाँ हुन्थे र? उनले खेलको अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे। उनले शानदार ‘फुटवर्क’ देखाउँदै सरल तर सुन्दर गोल गर्दा युरो कपमा आफ्नो गोल संख्या ११ पुर्याएका छन्।

सन् २००४ मा पोर्चुगलका लागि पहिलो युरो कप खेलेका रोनाल्डोले १२ वर्ष पछि, सन् २०१६ मा आफ्नो कप्तानीमा पोर्चुगललाई युरो कपको उपाधि दिलाउन पनि सफल भएका थिए। ३६ वर्षीय रोनाल्डोले वर्तमान युरो कप विजेता पोर्चुगलका लागि गत राति केही अन्य कीर्तिमान पनि रचेका छन्।

कीर्तिमान रचेको दिन

माथिका कीर्तिमानीहरुलाई छाडेर रोनाल्डोले गए राति अरु दुई कीर्तिमान पनि रचेका छन्।

३६ वर्ष १३० दिनको उमेरमा हंगेरीविरुद्ध गोल गरेका रोनाल्डो पोर्चुगलको लागि प्रमुख प्रतियोगितामा गोल गर्ने सबै भन्दा बढी उमेरका खेलाडी भएका छन्। यस अघि पेपेले सन् २०१८ विश्वकप फुटबलमा पोर्चुगलको लागि यो कीर्तिमान रचेका थिए। त्यस बेला पेपे ३५ वर्ष १२४ दिनका थिए।

त्यस्तै युभेन्टसका स्टार रोनाल्डो कुनै पनि युरोपियन प्रतियोगिताको एउटै खेलमा दुई गोल गर्ने सबै भन्दा बढी उमेरका खेलाडी पनि भएका छन्। उनले एन्ड्री शेभ्चेनकोको (३५ वर्ष २५६) दिनको कीर्तिमानलाई तोडेका हुन्।

युरो कपमा रोनाल्डो

रोनाल्डोको युरो कप यात्रा सन् २००४ मा शुरु भएको थियो। तत्कालीन म्यानचेष्टर युनाइटेडका खेलाडी रोनाल्डो त्यस बेला युरो कप उपाधिबाट मात्र एक कदम टाढा रहन पुगे। फाइनल खेलमा ग्रीसले पोर्चुगललाई पराजित गर्दा रोनाल्डोले त्यस प्रतियोगितामा २ गोल गर्न सफल भएका थिए।

सन् २००८ मा रोनाल्डोले दोस्रो युरो कप खेले। अस्ट्रिया र स्विट्जरल्यान्डले संयुक्त रूपमा आयोजना गरेको युरो कपमा पोर्चुगल क्वार्टर फाइनलबाटै बाहिरियो। जर्मनीले पोर्चुगलको यात्रा अन्त्य गर्दा रोनाल्डोले त्यस प्रतियोगितामा मात्र १ गोल गर्न सफल भए।

सन् २०१२ मा रोनाल्डोले पोर्चुगललाई सेमी फाइनलसम्मको यात्रा गराए। तत्कालीन विश्वकप तथा युरो कप विजेता स्पेनलाई सेमी फाइनल खेलमा पेनाल्टी ‘शूट आउट’सम्म बराबरीमा राख्न सफल भएको पोर्चुगलले खेलमा पराजय भोग्यो। रोनाल्डोले त्यस प्रतियोगितामा ३ गोल गर्न सफल भए।

सन् २०१६ मा रोनाल्डोले इतिहास रचे। उनको कप्तानीमा पोर्चुगलले आफ्नो पहिलो युरो कप उपाधि जियो। फ्रान्सलाई उसैको घरेलु मैदानमा पराजित गरेको पोर्चुगलका लागि रोनाल्डोले प्रतियोगितामा ३ गोल गर्न सफल भएका थिए।

सन् २०२० युरो कपले रोनाल्डोलाई के दिन सक्छ

जारी युरो कप २०२० मा पोर्चुगल समूह ‘एफ’मा परेको छ। बलिया प्रतिद्वन्दी फ्रान्स र जर्मनीसँग ‘ग्रुप अफ डेथ’मा परेको पोर्चुगलको टोलीलाई समूह विजेता बनाउने रोनाल्डोको लक्ष्य हुनेछ।

त्यस्तै पोर्चुगलको लागि १७६ खेलमा १०६ गोल गर्न सफल रोनाल्डोको आँखा अर्को कीर्तिमानमा पनि हुनेछ। उनी फिफा अन्तराष्ट्रिय सर्वाधिक गोलकर्ता बन्न मात्र ३ गोल पछाडि छन्। इरानका ‘अलि डाई’को १०९ गोलको कीर्तिमान तोड्ने दाउका साथै रोनाल्डो युरो कप २०२० को उपाधि जित्ने लक्ष्य पनि राख्दछन्।

गोल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?