युरो कप खेल ११ : पोर्चुगलको विजयी शुरुवातमा रोनाल्डोको नयाँ कीर्तिमान

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत समुह ‘एफ’मा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गरेको छ।

हंगेरीको घरेलु मैदान ‘पुस्कस एरेना’मा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै नयाँ कीर्तिमान रचे। रोनाल्डो युरो कपमा सर्वाधिक गोलगर्ने खेलाडी भएका छन्। उनले हंगेरीविरुद्ध दुई गोल गर्दै युरो कपमा आफ्नो गोल संख्या ११ बनाएका हुन्।

पहिलो हाफको खेल बराबरीमा सकिँदा दोस्रो हाफको अन्तिम ६ मिनेटमा पोर्चुगलले ३ गोल गर्न सफल भएको थियो। खेलको ८४औं मिनेटमा पोर्चुगलका लेफ्ट ब्याक रफाएल गुरेरोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।

त्यसपछि खेलको ८७औं मिनेटमा पोर्चुगलले पेनाल्टी प्राप्त गर्यो। कप्तान रोनाल्डोले सो पेनाल्टीलाई जाली चुमाउँदा पोर्चुगलको अग्रता दोब्बर भएको थियो। त्यस्तै खेलको अतिरिक्त समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे। उनले शानदार फुटवर्क देखाउँदै गरेको सहज तर सुन्दर प्रहारले जाली चुम्दा पोर्चुगलले खेलमा ३-० गोलको जित दर्ता गरेको हो।

रोनाल्डोले आजको खेलमा दुई गोल गर्दा फ्रान्सका लेजेण्ड मिचेल प्लेटिनीको युरो कपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका हुन्। प्लेटिनीले युरो कपमा ९ गोल गर्दा रोनाल्डोले ११ गोल गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?