हंगेरी र पोर्चुगल बिचको खेल हेर्न ६१,००० दर्शक उपस्थित

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत हंगेरी र पोर्चुगल बिचको खेल हेर्न ६१,००० दर्शक उपस्थित भएका छन्।

हंगेरीको राजधानी बुडापेस्टको ‘पुस्कास एरेना’मा जारी समुह ‘एफ’को खेलमा हंगेरीको राष्ट्रिय फुटबल संघले अधिकांश दर्शकलाई रंगशाला प्रवेश गर्न अनुमति दिएको छ। हंगेरी को ९.८ मिलियन मध्ये ५.३ मिलियन जनसंख्याले कोरोना भाइरसविरुद्धको दुवै खोप लगाइसकेको हुँदा हंगेरीका प्रधानमन्त्री, ‘भिक्टर ओर्बान’ले शत प्रतिशत दर्शकलाई रंगशाला गएर युरो कप हेर्न अनुमति दिएका हुन्।

ओर्बानले भ्याक्सिनले “बुलेटप्रुफ भेष्ट”को काम गर्ने बताउँदै कोरोना भाइरसविरुद्ध खोप लगाएका सम्पूर्ण फुटबल प्रेमीलाई मैदान प्रवेश खुल्ला गराएका छन्।हंगेरीका स्वदेशी समर्थकले आफु कोरोनाबाट सुरक्षित भएको प्रमाण प्रस्तुत गर्न ‘रिस्ट ब्यान्ड’ प्राप्त गर्ने भएका छन्।

त्यस्तै विदेशी समर्थकले रंगशाला प्रवेश गर्दा ७२ घण्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नु पर्ने शर्त लगाइएको छ। युरो कप आयोजना गरिरहेका अरु रंगशालाले मात्र २५ देखि ५० प्रतिशत दर्शकलाई रंगशाला प्रवेशमा अनुमति दिंदा हंगेरीले शत प्रतिशत दर्शकलाई अनुमति दिएको छ।

जारी हंगेरीविरुद्ध पोर्चुगल बिचको खेलमा ‘फूल हाउस’ दर्शक हुनु पछिल्लो एक वर्षकै रेकर्ड भएको छ। कोरोना भाइरस भित्रिए देखि शत प्रतिशत दर्शकलाई कुनै पनि प्रमुख अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको लागि रंगशाला प्रवेशमा अनुमति दिइएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?