लोकन्थलीमा प्रहरीको छापा : गुणस्तरहीन सेनिटाईजर उत्पादन गर्ने दुईजना पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिनसहित २ जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत काठमाडौं नयाँ बानेश्वर बस्ने रामेछाप सुनापति गाउँपालिका-१ गुन्सी भदौरे घर भएका २२ वर्षीय सुजन गौतम र काठमाडौं कोटेश्वर बस्ने बझाङ केदारस्यूं गाउँपालिका-८ भण्डार घर भएका २८ वर्षीय चन्द्र प्रसाद जोशी रहेका छन् ।

कोभिड(१९ महामारीका कारण ह्याण्ड स्यानिटाइजरको अत्याधिक माग भइरहेको सन्दर्भमा ‘नेपालय ह्याण्ड स्यानिटाइजर’ नामको स्यानिटाइजरको गुणस्तर जाँचका लागि औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा उक्त स्यानिटाइजरमा मिथानोल रसायन ६८ प्रतिशत भेटिएको तथा स्यानिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथि नियन्त्रण गर्नु पर्ने जरुरी रहेको देखिएको भन्ने व्यहोराको औषधि व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त भए पश्चात महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उक्त स्यानिटाइजरको उत्पादन एवं प्याकिङ भइरहेको स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

साथै औषधि व्यवस्था विभागमा दर्ता समेत नगरी Manufactured by : Medigraph
Group of Company Pvt . Ltd . Lokanthali Ward no. 1, Bhaktapur नेपाल उल्लेख गरिएको तयारी नेपालय ह्याण्ड स्यानिटाइजर सहित उक्त स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवाश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त सानोठिमी भक्तपुर पठाइएको तथा हाल फरार रहेका उक्त प्रालिका संचालक काठमाडौं सामाखुसी बस्ने सुजन दाहालको खोजी भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?