युरो कप खेल ९ : लेवान्डोस्कीको पोल्याण्डलाई स्लोभाकियाले बनायो स्तब्ध

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समुह ‘ई’को खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ गोलले पराजित गरेको छ।

रसियाको ‘सेन्ट पिटर्सवर्ग’मा भएको खेलको १८औं मिनेटमा नै स्लोभाकियाले अग्रता लिएको थियो। स्लोभाकियाका विङ्गर रोबर्ट म्याकले प्रहार गरेको शट पोल्यान्डका गोलरक्षक शेजनीलाई लागेर गोल हुँदा स्लोभाकियाले खेलमा अग्रता लिएको थियो।

दोस्रो हाफको शुरुवातमै पोल्याण्ड खेलमा फर्कियो। मिडफिल्डर कारोल लेनेटीको गोलद्वारा पोल्याण्डले खेल १-१ को बराबरीमा पुर्यायो। त्यसपछि खेलको ६२औं मिनेटमा पोल्यान्डका अर्का मिडफिल्डर क्रिचोवियाकले रातो कार्ड पाए। उनले दोहोरो पहेंलो कार्ड प्राप्त गरेर मैदान छाड्दा पोल्याण्ड १० खेलाडीमा सीमित हुन पुगेको थियो।

सो कुराको फाइदा उठाउँदै स्लोभाकियाका डिफेन्डर मिलान स्क्रीनियारले आफ्नो टोलीका लागि दोस्रो गोल गरे। उनले कप्तान मारेक हाम्सिकको क्रसमा गोल गर्दा स्लोभाकियाले महत्वपूर्ण ३ अंक बटुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?