काठमाडौं । नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने बागमती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् ।
गृहमन्त्री खगराज अधिकारीलाई आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ज्ञापनपत्र दिँदै ती सङ्गठनले प्रधानमन्त्री ओलीको ज्यानमाथि धावा बोल्ने गरी वैद्यले दिएको अभिव्यक्ति मुलुकको फौजदारी कानूनविपरीत हुने भएकोले उनलाई अविलम्ब गिरफ्तार गरी कानून कारवाही गर्न माग गरेका हुन् ।
मुलुकको कार्यकारी प्रमुखमाथि यस्तो गम्भीर र आपत्तिजनक अभिव्यक्ति प्रदेशसभामा दिइएको विषयप्रति नेपाली कांग्रेसले अझैसम्म औपचारिक धारणा मेत सार्वजनिक नगरेकोप्रति ती सङ्गठनले आपत्ति जनाएका छन् ।
गृहमन्त्री अधिकारीलाई नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दंगाल, अखिल नेपाल महिला सङ्घका सहसंयोजक थममाया थापा, विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष ऐन महर, राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेल, नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेश पौडेल, मुस्लिम इत्तिहास सङ्गठनका उपाध्यक्ष इश्रत साह, पेशागत महासङ्घ नेपालका अध्यक्ष बाबुराम थापालगायतले भेटी ज्ञापनपत्र बुझाएका थिए ।
केही दिन अघि बागमती प्रदेशसभा बैठकमा प्रदेश सांसद वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध उत्रन आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । आम आलोचनापछि वैद्यले प्रदेशसभामा उक्त अभिव्यक्ति फिर्ता लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया