काठमाडौं । नेकपा एमाले भित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला समाधान खोज्नका लागि स्थायी कमिटी बैठक बोलाइने भएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको टकरावका बेला बैठक बोलाउन लागिएको हो ।
नेपाल पक्ष पार्टीलाई २०७५ साल जेठ २ को अवस्थमा फर्काउनुपर्ने अडानमा रहेको छ । यता ओली पक्ष भने कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलमा रहेको छ ।
यसैबीच पार्टी विवाद समाधानका लागि अब छिट्टै स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले लोकपथलाई जानकारी दिए । मिति नतोकिएपनि केहि दिन भित्रै बैठक बोलाउने तयारीबारे छलफल भइरहेको उनले बताए ।
‘मिति नतोकिएपनि स्थायी कमिटी बैठक बोलाउने तयारीबारे छलफल भइरहेको छ । संभवत एक दुई दिनमानै त्यसबारे निर्णय हुनेछ।’ प्रवक्ता ज्ञवालीले लोकपथसँग भने ।
बैठकमा अध्यक्ष ओलीसँग असन्तुष्ट रहेका वरिष्ठ नेता नेपाल पक्षलाई समेत सहभागिताका लागि आह्वान गरिने उनले बताए । यसैगरी नेपाल पक्षका अडानका विषयमा थप छलफल भइरहेको उनले जानकारी दिए ।
‘तत्काल बोलाइने बैठकमा सबै साथीहरुलाई समेटेर लैजानका लागि तयारी भइरहेको छ । यता हामीहरु उहाँहरुले राखेको माग बारेमा समेत छलफल गरिरहेका छौँ । सायद उतापनि केहि छलफल भइरहेको होला ।’ ज्ञवालीले भने ।
यसअघि बोलाइएको बैठक विभिन्न मितिहरु सार्दै जेठ २० गते अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया