५ पूर्व प्रधानमन्त्रीको विज्ञप्तिले के संकेत गर्छ ?

लोकपथ
650
Shares

शनिवार । जेठ २९ । बिदाको दिन । दिउँसो अचानक एउटा विज्ञप्ति आयो ।

अन्य दिनमा आइरहने जस्तो औसत विज्ञप्ति थिएन । यो संयुक्त विज्ञप्ति थियो । यसलाई जारी गर्नेहरु नेपालका पूर्वप्रधानमन्त्री थिए । त्यो पनि एक होइन, पाँच र पाँच जना । ती थिए, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई ।

अलग अलग पार्टीका यी शीर्षस्थ नेता तथा पूर्वप्रधानमन्त्रीले एकै स्वर गरी विज्ञप्ति जारी गरे ।

लोकतान्त्रिक गणतन्त्र व्यवस्था र योसँगै ०६२/०६३ को जनआन्दोलनले ल्याएको राजनीतिक उपलब्धि उल्टयाउन विदेशी शक्ति सक्रिय रहेको आंशका गरिएको बेला पाँचजना पूर्वप्रधानमन्त्रीबाट यस्तो विज्ञप्ति आएपछि त्यसलाई विभिन्न कोणबाट विश्लेषण एवम् टिकाटिप्पणी गरिएको भइरहेको छ ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भङ्ग गरेपछि प्रारम्भ भएको नेपाली राजनीतिको गतिरोधमा धेरैले भारतको रुची रहेको संकेत गर्दै आएका छन् । विज्ञप्तिलाई गहन रुपमा हेर्ने हो भने एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई नउकास्न र ओलीले गरेका गैरराजनीतिक कामहरुमा धाप नपार्न घुमाउरो शैलीबाट भारतलाई सुझाइएको छ ।

कतिसम्म भने विज्ञप्तिमा ‘देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन् गरी विदेशमा निकासी गर्ने’ सरकारको निर्णयमाथि चर्को विरोध गर्दै यो निर्णयलाई ‘राष्ट्रहित र जनविरोधी’ समेत भनिएको छ । ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने’ भन्दै निर्णयको भत्र्सना गरिएको छ । ‘अरुको हित’ भन्नाले विज्ञप्तिले भारततर्फ संकेत गर्छ । किनकी यो निर्णय भारतको आग्रहमा गरिएको बुझ्न कठिन छैन ।

भारतले पछिल्लो समय नेपालमा आफूले जे चाह्यो त्यही हुन्छ भन्ने भान पार्न खोजिरहेको छ । यही श्रृंखलामा भारतको संस्थापन पक्षले पछिल्लो समय ओलीलाई भारतको समर्थन रहेको संकेत गर्नका लागि भारतीय मिडिया प्रयोग गर्दै आएको छ ।
नेपालमा आफ्नो चाहना लाद्ने र प्रधानमन्त्री ओलीलाई ‘भारतीय कित्ता निकट’ रहेको साबित गर्ने भारतको पछिल्लो मुभ अब सार्वजनिक भइसकेको छ ।

हाम्रा पाँच पूर्वप्रधानमन्त्रीबाट जुन विज्ञप्ति आयो त्यो भारततिर केन्द्रित रहेको बुझ्न कठिन छैन । विज्ञप्ति मार्फत भारतलाई स्पष्ट सन्देश छ, ‘नेपालको बारेमा अन्तिम निर्णय नेपालीले नै लिने हो, तिमीले चलखेल बन्द गर । ’

भारतलाई संकेत गर्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ,‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं ।’
हाम्रा पाँच पूर्वप्रधानमन्त्री र उनीहरुले प्रतिनिधित्व गर्ने दल एकातिर तथा भारत अनि ओली अर्कोतिर हुने गरी कित्ताकाट भएको देखियो । जबसम्म भारतले ओलीको काँधमा धाप मारिरहन्छ, तबसम्म नेपाली राजनीतिमा देखिएको गतिरोध अन्त्य हुने छाँटकाँट देखिदैन ।

नेपाली राजनीतिमा धुव्रीकरण बढ्दा वा बढाइदा विदेशी शक्तिले कसरी खेल्न सक्छ भन्ने उदाहरण हो, पुस ५ देखि विकसित भएको नेपाली राजनीति । अनि त्यसैको परिणाम हो, हाम्रा पाँच पूर्वप्रधानमन्त्रीको यो संयुक्त वक्तब्य ।

यो विज्ञप्तिले त्यहि इतिहास दोहोरिएको संकेत गर्छ जून २०७२ मा नेपालको संविधान निर्माणमा भारतको असन्तुष्टि लुकेको थिएन । तर त्यसलाई वेवास्ता गर्दै प्रमुख राजनीतिक दलहरु एक ठाउँमा आए । भारतको अरुची हुँदाहुँदै संविधान जारी गर्ने सन्दर्भमा प्रमुख दलका शिर्षस्थ नेताहरु एकजुट भए । ‘हाम्रो संविधान हामी आफै बनाउँछौ’ भने । संविधान आउन सम्भव भयो ।
अहिले आएर पाँच दलका शिर्षस्थ नेता तथा पूर्व प्रधानमन्त्रीहरु एक ठाउँमा उभिएर त्यस्तै भाषा बोलेका छन्,यसपटक पनि भारततिर संकेत गर्दै ।
उनीहरुले भारतको नाम उल्लेख नगरी चेतावनी शैलीमा भने, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस ।’

यसअघि

गणतन्त्रको विकल्प गणतन्त्र

प्रधानमन्त्रीले ट्याउँट्याउँ बन्द गरुन्

अल्पमतको काम चलाउ प्रधानमन्त्रीको भद्धा हर्कत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?