चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई प्रधानमन्त्रीसहित शिक्षा र स्वास्थ्यमन्त्रीको धम्की !

लोकपथ
154
Shares

काठमाडौं । बृहत नागरिक अन्दोलनका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर धम्की दिएको आरोप लगाएका छन् ।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उपाध्यक्ष डा. गिरीलाई प्रक्रिया मिचेर बीएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिनको लागि दवाव दिएको नागरिक आन्दोलनका अगुवाहरुको आरोप रहेको छन् ।

जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठक निष्कर्षबिहीन टुंगिएपनि ३० गते प्रधानमन्त्री ओलीले डा.गिरीलाई हस्ताक्षर गर्न दवाव दिएको उनीहरुको ठहर रहेको छ ।

नागरिक आन्दोलनका तर्फबाट आज एक विज्ञप्ति जारी गर्दै शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसहित मिलेर दिएको दवावसहितको धम्कीले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको उनीहरुको दाबी रहेको छ ।

‘यही जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकपछि विकसित नाटकीय घटनाक्रमहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त बैठकमा बीएण्डी मेडिकल कलेजको सम्बन्धनकबारे चलेको छलफल निश्कर्षबिहीन भएको तथा विज्ञ सदस्यमहरुको आवश्यक प्रक्रिया पुर्याएर मात्रै सम्बन्धन दिनुपर्ने कुरा राखेको तथ्य सार्वजनिक भैसकेको छ । त्यसै सन्दर्भमा आज विकसित राजनीतिक घटनाक्रमले अत्यन्त गम्भीर मोड लिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ । ‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटारमा बोलाई प्रकिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दवाव दिएका छन् । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वाथ्यमन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दवाव दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ । ‘

त्यस्तै डा. गिरीको सुरक्षाका निम्ति आ(आफ्नो ठाउँहरुबाट आवाज उठाउन र आन्दोलित हुनका लागि राजनीतिक दल लगतायत पेशाकर्मीहरुलाई आग्रह गरेका छन् ।
उक्त नागरिक आन्दोलनलाई सञ्जीव उप्रेती, नारायण वाग्ले, युग पाठक र खगेन्द्र संग्रौला लगायतले अगुवाई गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?