निषेधाज्ञाले बढ्यो मानसिक समस्या : खलबलिँदै छन् हाम्रा बालबालिका

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको मानसिक स्वास्थ्यमा गडबडी देखिन थालेको छ ।

लकडाउन अघि शनिवार बाहेक अरु दिन स्कुल जाने बालबालिका अहिले पूर्ण रुपमा फुर्सदिला छन् । पढ्न नपर्ने भएका कारण खेल्ने,टिकटक बनाउने,गेम खेल्ने,युट्युब चलाउने लगायतमा व्यस्त छन् । लामो समय अभिभावकसँगै घर बस्नुपर्दा चिढिइन थालेका छन् ।

यस्ता छन् समस्याहरु

टोलाउने, मोबाइलमा व्यस्त हुने, खानाको खोजी नगर्ने जस्ता समस्या बालिबालिकामा देखिन थालेका छन् ।

बालमैत्री वातावरण नपाएका कारण एकोहोरो हुने,महामारीको भयले निद्रा नलाग्ने, मन हतास हुने, खानामा अरूचि हुने,तर्सिने,झगडा गर्नेजस्ता समस्याले उनीहरुलाई गाँज्न थालेका छन् ।

अहिले कतिपय बालबालिकामा देखिएको मनोवैज्ञानिक समस्या कोरोना महामारी र त्यसको रोकथामका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारणले सिर्जना गरेको हो । कोरोनाको पहिलो लहर नसकिँदै दोस्रो लहर सुरु भएको छ । त्यसले गर्दा कोरोनाको जोखिम न्युनिकरण गर्न सरकारले विभिन्न जिल्लाहरुमा निषेधाज्ञा गरेको छ । गत वर्ष देशैभरी लकडाउन गरेको सरकारले यसपटक बढी संक्रमण भएका स्थानहरुमा पनि निषेधाज्ञा गर्दै आएको छ । कोरोनाको संक्रमण कहिलेसम्म रहिरहने हो भन्ने यकिन छैन । त्यसैले यसको असर दिर्घकालिन रुपमा रहने मनोविद बताउँछन् ।

बालबालिकालाई कुनै समयमा निकै डर लाग्ने, आत्तिने स्वभाव देखियो भने त्यसको प्रभाव दिर्घकालसम्म पर्छ । कलिलो मस्तिष्कमा एक पटक राम्रो या नराम्रो कुराको छाप प–यो भने त्यसले लामो समयसम्म असर गर्न सक्ने मनोविद्हरुको भनाई छ ।

बालबालिकामा छटपटी हुने, सानो कुरामा पनि आत्तिने, कुनै पनि काम गर्न आँट नगर्ने, सानो कुरामा पनि मन दुखाउने, हिनताबोध सिर्जना हुने आदि समस्या लामो समयसम्म रहन सक्छ ।

बेलैमा समस्या पहिचान गरेर व्यवस्थापन गर्नुपर्छ । यदि त्यसो गर्न नसक्ने हो भने आत्महत्या जस्तो अप्रिय अवस्था समेत आउन सक्छ । बालबालिकालाई कुनै पनि महामारी वा अन्य घटनाहरुसँग परिचित गराउँदा त्यसबाट कसरी जोगिने,यसका सकारात्मक तथा नकारात्मक पक्षका बारेमा राम्रोसँग बुझाउन सक्नुपर्छ । उनीहरुको कुरा ध्यानपूर्वक सुनेर मात्रै प्रतिक्रिया दिनुपर्छ ।

बालबालिकाका हरेक जिज्ञासाको चित्तबुझ्दो जवाफ दिनुपर्छ । बालबालिकालाई सकेसम्म नकारात्मक सूचनाबाट टाढै राख्नुपर्छ । कोरोनाका कारण संक्रमित तथा मृत्यृदर बढिरहेका बेला त्यस्ता सूचना तथा समाचारबाट टाढा रहनुपर्छ ।

उनीहरुको बालबौद्धिक क्षमताले मृत्युका कुरालाई जटिल रुपमा लिने गर्छन् । जसले असुरक्षा महसुस गर्न थाल्छन् । बालबालिकाले आफूले देखेको कुरामा आफूलाई पनि जोडेर हेर्ने र सोही अनुसार आफुलाई प्रस्तुत गर्न खोज्छन् । त्यसले गर्दा शैक्षिक अवस्था पनि नाजुक बन्दै गइरहेको छ । त्यसैले बालबालिकालाई सकेसम्म नकारात्मक सूचनाबाट टाढा राख्न मनोविद सुझाउँछन् ।

अभिभावकको जिम्मेवारी

बालबालिकालाई कोरोना त्रासबाट बचाउने सबैभन्दा ठुलो जिम्मेवारी अभिभावकको भएको विशेषज्ञहरु बताउँछन् । इच्छाअनुसार खुशी हुन दिनुका साथै उनीहरुको अध्ययनप्रति अभिभावक जिम्मेवार बन्नुपर्नेमा सरोकारवाला जोड दिन्छन् । अभिभावकले बालबालिकालाई सकारात्मक कुरा देखाउने, सुनाउने पढाउने गर्नुपर्छ । त्यसका लागि दैनिक कार्यतालिका नै बनाएर उनीहरुलाई व्यस्त राख्नुपर्छ । अहिले बालबालिकालाई सम्हाल्न गाह्रो भइरहेका बेला अभिभावकले संयमतापूर्वक सहि मार्गमा डोर्‍याउनुपर्छ ।

संकटका बेला बालबालिकाले उत्तरदायी अभिभावकत्व नपाए उनीहरुको मानसिक तथा सामाजिक अवस्था बिग्रने भएकाले उनीहरुको मनोबल गिर्न नदिन अभिभावकको भूमिका नै बढी महत्वपूर्ण हुनुपर्छ ।

राज्यको जिम्मेवारी के ?

बालबालिका भविष्यका कर्णधार हुन् । त्यसैले हरेक पाइला पाइलामा सरकारले बालबालिकाको संरक्षण गर्नुपर्छ । त्यसमा पनि राज्यले विशेष प्राथमिकता दिँदै खोपको पनि व्यवस्था गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

यो महामारीको अवस्थामा सरकारले बाल मनलाई उचित रुपमा संरक्षण गर्न उनीहरु आग्रह गर्छन ।

के भन्छन्, चिकित्सकहरु ?

डा.सरोज ओझा, वरिष्ठ मानसिक रोग विशेषज्ञ, शिक्षण अस्पताल

लकडाउन तथा निषेधाज्ञाले बालबालिका मात्रै नभएर हरेक उमेरका मानिसलाई असर गरेको देखिन्छ । यसमा बालबालिका अझ बढी प्रभावित छन् । उनीहरुको पढाइको कुरा,साथीसँग खेल्ने र त्यसका साथै करिअर बनाउने कुराहरु यी तीन वटा पक्षमा कोरोनाका कारण असर परेको छ । कोरोनाका कारण घरमै बस्नपुर्ने अवस्था आयो । उनीहरुमा उमेर अनुसार भिन्दा भिन्दै प्रभाव पर्ने भयो । स्कूल जान पाइएन,साथीसँग सम्पर्क भएन,घरमै बस्नु पर्‍यो भन्ने आधारमा मनोविज्ञान नकारात्मक हुन सक्छ ।

यसले बालबालिकामा झर्किने, रिसाउने बानी बसेको छ । किनकी उनीहरुका सबै कुरा पूरा भएका छैनन् । त्यसकारणले बच्चाहरुमा त्यस्तो स्वभाव देखिन्छ ।

कतिपय बालबालिकाले यसलाई तनावका रुपमा लिएका कारण डराउने खालको समस्या पनि हुन सक्छ । कुनै मानिसले लामो समय तनाव लियो अथवा घरमा कसैको मृत्यु भयो भने त्यस्ता मानिसमा मन डराउने डिप्रेशनको समस्या पनि देखिन सक्छ । कतिपय बालबालिका चाँही कसरी मनोरन्जन गर्न सकिन्छ भनेर पनि लागिरहेका हुन्छन् । त्यस्तै कतिपय इन्टरनेटतर्फ बढी आकर्षित हुने, त्यसमा पनि नकारात्मक कुरामा आकर्षित हुने गरेको देखिन्छ । कतिपय गेममा आकर्षित हुने गरेको देखिन्छ ।

मनोविज्ञानको हिसावले मानसिक विकासको समय पनि भएकाले यो उमेर निकै महत्वपूर्ण हुन्छ । कतिपय कुराहरु साथीबाट पनि सिक्न सक्ने हुन्थ्यो । यी सबै कुरा नभएपछि बढी मात्रामा इन्टरनेटतर्फ आकर्षित हुने अनि घरायसी झगडा हुने लगायतका विभिन्न स्वभावहरु देखिन्छन् । कतिपय मानिसहरुमा त पेट दुख्ने र टाउको दुख्ने लक्षण पनि देखिन्छन् ।

यस्ता विभिन्न खालका समस्या देखिन सक्ने भएकाले बालबालिकालाई यो संकटका बेला अभिभावकले विशेष ख्याल गर्नुपर्छ । अभिभावकले सबैभन्दा पहिले उनीहरुको कुरा राम्रोसँग सुन्नुपर्छ । उनीहरुलाई बोल्न दिने र उनीहरुको मनको भावना बुझ्नुपर्छ । अभिभावकले त्यसका लागि एउटा कार्यतालिका नै बनाउनुपर्छ । बिहान उठ्ने,उठेपछि के के गर्ने,कसले के न गर्ने ,कसले घरको सरसफाई गर्ने,कसले भान्सामा सहयोग गर्ने जस्ता पक्षलाई कार्यतालिका मार्फत ब्यवस्थित बनाउनुपर्छ ।

बालबालिकालाई उनीहरुका नजिकका साथीसँग सामाजिक सम्बन्ध जोड्ने र सकारात्मक कुराहरुमा छलफल गर्न लगाउने गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भन्दा अभिभावक आफु नै उदाहरण बन्नुपर्छ । आफुले मोबाइल,इन्टरनेट चलाउने त्यसमाथि नकारात्मक समाचारहरु हेर्ने प्रवृत्ति त्याग्नुपर्छ । त्यसो गर्यो भने बालबालिकाले पनि अभिभावकले जे ग–यो त्यहि गर्छन् । त्यसैले त्यस्ता कामहरु आफुले पनि गर्नु हुदैन ।

नकारात्मक समाचारबाट बालबालिकालाई टाढा राख्ने र आफुले पनि नहेर्ने गर्नुपर्छ । त्यसका साथै बालबालिकासँग खुशी दिने कुराहरु गराउनुका साथै खुशी ल्याउने प्रयास गर्नुपर्छ । खुशीले शरिरभित्रका नकारात्मक हर्माेनहरु हटाउने र सकारात्मक हर्माेनहरु दिने काम गर्छ । सकारात्मक हर्माेन निस्क्यो भने मानिस खुसी हुन थाल्छ । खुशी भए जाँगर आँउछ । जाँगर आएपछि उनीहरु पढाइप्रति केन्द्रित हुन सक्छन् ।

हाम्रो मुलुकमा अहिले एक करोड भन्दा बढी बालबालिका छन् । यिनीहरुलाई आफ्नो भविष्यको चिन्ता छ । त्यसैले राज्यले सबैभन्दा पहिले कोरोनाबाट बच्ने उपायहरु दिनुपर्छ । त्यसपछि राज्यले उनीहरुको भविष्य के हुने भन्ने विषयमा एउटा संयन्त्र नै बनाउनु पर्छ । नयाँ नयाँ प्रविधि प्रयोग गरेर उनीहरुको भविष्य सुरक्षित पार्न सरकारसँगै स्कूल तथा शिक्षक पनि लाग्नुपर्छ । अभिभावक, सरकार,स्कूल ,शिक्षक सबैको भूमिका हुने गरी सरकारले नीति ल्याउनुपर्छ । यसो गर्न सकेमा बालबालिकालाई यो महामारीको संकटबाट बचाउन सकिन्छ ।

डा.विजयबाबु शाह, बाल शल्य चिकित्सक, कान्ति बाल अस्पताल

कोरोनाका कारण बच्चाहरुमा घरमै बस्नुपर्ने,स्कूल जाने,साथीहरुसँग हेलमेल हुने जस्ता साधारण क्रियाकलापहरु हुन नसक्दा समस्या देखिएको छ । घरमा हेरचाह गर्न पनि गाह्रो भइरहेको अवस्था छ अहिले । यस्ता कुराबाट अलग राख्न वा बचाउन बालबालिकालाई पढाइतिर लगाउनुपर्छ । कुनै कुनै बालबालिकामा डराउने ,चिढिने ,भनेको नमान्ने जस्ता समस्या पनि देखिएको छ । जसले उनीहरुको वृत्तिविकासमा समेत असर परेको छ । यसले अध्ययनमा समेत बाधा पुगेको छ । स–साना बालबालिकाले अनलाइनमा पनि पढ्न नसक्ने हुन सक्छ । त्यसैले बालबालिकालाई साविककै अवस्थामा हुर्काउने प्रयास गर्नुपर्छ ।

अहिले आम नागरिकले कोरोना विरुद्धको खोप लगाइरहेका बेला बालबालिकाका लागि पनि सरकारले खोपको व्यवस्था गर्नुपर्छ । त्यसका साथै घरायसी वातावरणमा गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?