सीमापारी विष्फोट हुँदा नेपाली भू–भागमा क्षति, बाटो अवरुद्ध

लोकपथ
105
Shares

धनगढी-टेकसिंह धामी । भारतले निर्माण गरिरहेको दार्चुला–लिपुलेक सडक खण्डका कारण नेपाली भूमिमा रहेको बाटो अवरुद्ध भएको छ । भारतीय पक्षका कारण ५ दिनदेखि नेपाली भूमिमा रहेको बाटो अवरुद्ध भएको हो ।

सडकखण्ड निर्माणका क्रममा भारतले विष्फोटक पदार्थ विष्फोट गर्दा नेपाली भूभागमा क्षति भएको छ । नेपाली भू–भागको बाटोसमेत भत्किएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरूपलाई नेपालको भू–भागमा भइरहेको क्षति रोक्न र अवरुद्ध बाटो सञ्चालन गर्न आग्रहसहित पत्र पठाएको जानकारी दिए ।

‘भारतीय गतिविधिका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले बाटो अवरुद्ध भएको छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले थाहाखबरसँग भने,‘बन्द भएको बाटो खुलाउन र यस्ता गतिविधि रोक्न पत्रमा आग्रह गरेका छौँ ।’

नदीमा खसेको चट्टानलाई पन्छाउन र बहावलाई प्राकृतिक धारमा फर्काउन पनि आग्रह गरेको उनले बताए । उनले त्यसको जानकारी गृहमन्त्रालयलाई गराइएको र कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरिएको सीडीओ जोशीले जानकारी दिए ।

स्थानीय प्रशासनका अनुसार दार्चुलाको व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको थियो । प्रहरी चौकी दुम्लीङबाट करिब दुई मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ ।

भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो । स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो पूर्णरूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको स्थानीयले बताएका छन् । भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ ।

पत्रको सुनुवाइ भएन : 
भारतीय पक्षबाट भइरहेको सडक विस्तारले नेपाली भूमिमा रहेको सडक अवरुद्ध पारेको बारे दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले भारतीय समकक्षीलाई पत्र लेखेपनि पत्र काटेको ४ दिन सम्म दिन सम्म पनि भारतीय पक्षले कुनै प्रतिक्रिया दिएको छैन ।

जिल्ला अधिकारी पिथौरागढमा पठाइएको पत्रमा सडक बिस्तार गर्दा नेपाली भूमिमा रहेका बाटो अवरुद्ध भएको हुँदा बाटो खोल्न आग्रह गरिएको छ । तर, उताबाट पत्रको प्रतिउत्तर पनि आएको छैन ।

बुधवार हामीले हामीले भारतीय पक्षलाई पत्र लेखेर पहिरो हटाउन आग्रह गरेका थियौँ प्रजिअ जोशीले भने, ‘अहिले सम्म कुनै प्रतिक्रिया आएको छैन। सडक अवरुद्ध नै छ ।’ यस विषयमा गृह मन्त्रालयलाई पनि जानकारी गराएको तर उताबाट पनि कुनै प्रतिक्रिया नआएको उनले बताए ।

बिगत लामो समय देखि प्रयोगमा आइरहेको सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?