६ वटा मुख्य सडक कालोपत्रका लागि डिपिआर तयार

लोकपथ
686
Shares

काठमाडौं । महाशिला गाउँपालिकाले मातहतका ६ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ । गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पुर्‍याउने उद्देश्यले सडक स्तरोन्नति तथा कालोपत्र गर्नका लागि ६ वटा सडकको डिपिआर तयार गरेको हो । पालिकाका सबै वडामा पुग्ने गरी ‘एक वडा, एक सडक’अन्तर्गत उक्त सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

६ वटा वडामा पहुँच पुर्‍याउने गरी करिब ४८ किलोमिटर लामो सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए । उनका अनुसार डिपिआर गरिएका सडकको कालोपत्र गर्नका लागि करिब रु दुई अर्ब ५० करोड लागत अनुमान गरिएको छ । डिपिआर सम्पन्न भएका सडकको कालोपत्र तथा स्तरोन्नतिका लागि प्रदेश तथा सङ्घीय सरकारबाट बजेट माग गर्ने र स्थानीय सरकारले साझेदारी गर्ने योजनासमेत बनाइएको छ ।

गाउँपालिकाले वडा नं-१ होश्राङ्दीमा अगाहगडी– पैयुभञ्ज्याङ सडक, वडा नं-२ भोक्सिङमा सालडाडा–खोलाखर्क–पाखुरेडाँडा सडक, वडा नं-३ बालाकोटमा हिरुखर्क–निगाली–दियालीडाँडा–बारेडाँडा सडकको डिपिआर सम्पन्न गरेको हो । यसैगरी वडा नं-४ पाखापानीमा लाम्तुन–दर्जीडाँडा–थापथर, वडा नं-५ लुङ्खुदेउरालीमा लुङ्खुदेउराली–बान्द्रे–धनुमासे–सेरा सडक र वडा नं-६ फलामखानीका लागि घण्टेदेउराली–फलामखानी–घन्तरी सडकको डिपिआर तयार गरेको प्रवक्ता ठकुरीले जानकारी दिए ।

यस वर्ष पालिकाले आफ्नै लगानीमा पाँच किलोमिटर सडकको कालोपत्रको काम अघि बढाएको छ भने दक्षिण पर्वत जोड्ने लमाय–लुङ्खु र लुङ्खुबाट पैँयुको हुवाससम्मको सडक समेत कालोपत्रको काम भइरहेको छ । डिपिआर गरिएका सबै सडक कालोपत्र भएपछि गाउँपालिका सडकयुक्त हुने अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?