प्रदेश नं. १ मा नीति तथा कार्यक्रम माथिको छलफल सकियो, कार्यान्वयनमा जोड

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रम माथि छलफल समाप्त भएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासीले प्रदेश सभा नियमावली अनुसार प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम यही जेठ २७ गते बिहीबार प्रस्तुत गरेका थिए । सोही दिन मुख्यमन्त्री शेरधन राईले सदनमा वार्षिक नीति तथा कार्यक्रम टेबल समेत गरेका थिए ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत, कुसुमकुमारी श्रेष्ठ, जयराम यादव, तुलसीप्रसाद न्यौपाने, झलकबहादुर मगर, विष्णु तुम्बाहाम्फे, मोहनकुमार खड्का, राजन राई, राजेन्द्रकुमार राई, लीलाबल्लभ अधिकारी, लीला सुब्बा, लोकप्रसाद सङ्ग्रौला र हिमाल कार्कीले नीति तथा कार्यक्रम वास्तविकतामा आधारित नभएर कल्पना मात्र भएको बताए । उनीहरुले सरकारले सुशासनको क्षेत्रमा कमजोर देखिएको, दलित, पीडितलाई समेट्न नसकेको, सरकारको आत्मबल घटेको जस्तो देखिएको, झुठको पुलिन्दा पढ्न योग्य भएपनि यथार्तमा केही पनि नरहेको टिप्पणी गर्दै सरकारले नीति तथा कार्यक्रम सच्याउन माग समेत गरे ।

यसैगरी सदस्यहरु अम्बिका थापा, आशारत्न जवेगु, उपेन्द्रप्रसाद घिमिरे, कुलप्रसाद सांवा, खिनुलम्वा लिम्बू, वशन्तीदेवी यादव, वीणादेवी राईले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्यनमा जोड दिए । यसैगरी उनीहरुले सरकारले कोभिड उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्दै सरकारले कार्यक्रममा भौतिक पूर्वाधार, सिँचाई, खानेपानी, पुलपुलेसा तथा सबै वर्ग र क्षेत्रलाई समेटेको बताए ।

प्रदेशसभाको अर्को बैठक आइतबार दिउँसो २ बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?