के रोनाल्डोले ‘ग्रुप अफ डेथ’ पार गर्न सक्लान् त ?

काठमाडौं। युरो कप २०२० शुरु भइसकेको छ। उद्घाटन खेलमा गए राति इटालीले टर्कीलाई ३-० गोलले पराजित गरेको छ ।

एक महिना लामो चल्ने यस प्रतियोगितामा कुल २४ टोली सहभागी छन्। ती २४ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ। हरेक टोलीमा ४ राष्ट्र रहँदा समुह ‘एफ’लाई यसपाली ‘ग्रुप अफ डेथ’ मानिएको छ। समूह ‘एफ’मा साविक विजेता पोर्चुगलसँगै पछिल्ला दुई संस्करणका विश्वकप विजेता फ्रान्स र जर्मनी रहेका छन्। चौथौं राष्ट्रको रूपमा हंगेरी यस समूहमा रहेको छ।

विश्वकै उत्कृष्ट मध्येका एक खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल आफ्नो उपाधि बचाउने दाउले प्रतियोगिता खेल्नेछ। तर ‘ग्लोबल आइकन’ रोनाल्डोलाई यस पटक समूह चरणमा नै कठिन समस्या देखिन्छ। फ्रान्स र जर्मनी जस्ता बलियो टोली रहेको समूहमा पोर्चुगललाई त्यति सजिलो हुनेछैन।

अझै हंगेरीलाई पनि कम आँक्न भने मिल्दैन। सन् २०१६ को युरो कपमा पनि पोर्चुगल र हंगेरीको भेट समूह चरणमा नै भएको थियो। जसमा पोर्चुगलले हंगेरीविरुद्ध केवल बराबरीको नतिजा मात्र प्राप्त गर्न सकेको थियो।

सन् २०१४ र २०१८ का विश्वकप विजेता जर्मनी र फ्रान्सको तुलना हंगेरीसँग गर्न मिल्दैन। पछिल्लो संस्करणको फाइनल खेलमा घरेलु मैदानमा पोर्चुगलसँगै पराजित भएको फ्रान्सलाई बदलाको भावना पक्कै रहेको छ। अझै पछिल्लो विश्वकपमा नराम्रो प्रदर्शन गरेको जर्मनीलाई अन्तराष्ट्रिय मञ्चमा आफ्नो पुनरागमनको बिगुल फुक्नु छ।

यसै बिच राम्रो टोलीको बावजूद पोर्चुगललाई केही समस्या भने अवश्य देखिएको छ। रोनाल्डो युरो कपकै सर्वाधिक गोलकर्ता हुनबाट मात्र १ गोल टाढा छन्। आफ्नो राष्ट्रको लागि १०४ गोल गरिसकेका रोनाल्डो यस प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बन्ने लक्ष्य पनि राख्दा हुन्।

समूह ‘एफ’का सम्पुर्ण खेल ‘बुडापेस्ट’ र ‘म्युनिख’मा खेलिने तालिका रहेको छ। यस्तो अवस्थामा जर्मनी र हंगेरीलाई केही फाइदा भने अवश्य हुनेछ। तर उपाधि नै आँखा लगाइरहेका बलिया टोली फ्रान्स र पोर्चुगललाई स्थान र रंगशालाले त्यति ठूलो असर भने अवश्य पार्नेछैन।

‘ग्रुप अफ डेथ’लाई नियालेर हेर्दा

पोर्चुगल (वर्तमान युरो कप विजेता)

प्रशिक्षक: फर्नान्डो सान्टोस
तालिका: जुन १५ (हंगेरी), जुन १९ (जर्मनी), जुन २३ (फ्रान्स)
प्रमुख खेलाडी: क्रिस्टियानो रोनाल्डो
प्लेयर टू वाच: जाओ फेलिक्स

ताकत: एट्याकिंग फुटबल
पोर्चुगल पर्याप्त एट्याकिङ खेलाडीले भरिएको टोली हो। रोनाल्डोसँगै म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, फ्र्याङ्कफर्टका आन्द्रे सिल्भा, लिभरपुलका जोटा र एथ्लेटिको मड्रिडका जाओ फेलिक्सको निशाना सधैं गोलमै रहेको हुन्छ।

कमजोरी: डिफेन्स
यस संस्करणमा पोर्चुगलका प्रमुख रक्षक हुनेछन् रुबेन डियास। यस वर्ष प्रिमियर लिगका उत्कृष्ट खेलाडी घोषित भएका रुबेनको सहयोगी रक्षक जोसे फन्ट वा पेपे मध्ये एक जना हुनेछन्। पेपे र फन्टको डिफेन्डिङ क्षमतामा कुनै प्रश्न नगर्दा पनि उमेर र सहनशक्तिको कुरा अवश्य पनि आउँदछ। ३८ वर्षीय पेपे र ३७ वर्षीय फन्टलाई कुनै पनि तिब्र गतिका प्रतिद्वन्दीले आरामै बिट गर्ने सम्भावना देखिएको छ।

 

फ्रान्स (वर्तमान विश्वकप विजेता)

प्रशिक्षक: डिडियर डेसच्याम्प्स
तालिका: जुन १५ (जर्मनी), जुन १९ (हंगेरी), जुन २३ (पोर्चुगल)
प्रमुख खेलाडी: किलियन एमबाप्पे
प्लेयर टू वाच: एन्टोइन ग्रिजम्यान

ताकत: स्क्वाड डेप्थ
फ्रान्सका प्रशिक्षक डेसच्याम्प्ससँग हरेक पोजिसनका लागि दुई देखि तीन उत्कृष्ट खेलाडी विकल्पमा रहेका छन्। इन्जुरीका कारण राम्रो खेलाडी गुमाउने डर फ्रान्सलाई कम देखिन्छ।

कमजोरी: अपर्याप्त अभ्यास खेल
वर्तमान विश्वकप विजेता फ्रान्सलाई अपर्याप्त मैत्रीपूर्ण तथा अभ्यास खेलको कमी अवश्य पनि महसुस हुनेछ। अझै ‘ग्रुप अफ डेथ’ जस्तो समूहमा पर्दा पर्याप्त खेलको अभावले ठूलो प्रभाव पार्ने सम्भावना देखिन्छ।

 

जर्मनी (४ पटक विश्वकप विजेता)

प्रशिक्षक: जोचिम ल
तालिका: जुन १५ (फ्रान्स), जुन १९ (पोर्चुगल), जुन २३ (हंगेरी)
प्रमुख खेलाडी: सर्ज ग्नाब्री
प्लेयर टू वाच: काई हाभर्ज

ताकत: स्क्वाड डेप्थ
फ्रान्स जस्तै जर्मनीको ताकत उसको वैकल्पिक खेलाडीको स्तरमा रहेको छ। जर्मनीको टोलीमा हरेक पोजिसनका लागि दुई देखि तीन उत्कृष्ट खेलाडी छन्।

कमजोरी: आत्मविश्वास
सन् २०१८ मा बिर्सन योग्य विश्वकप खेलेको जर्मनीलाई आन्तरिक दवाव रहनेछ। युरो कपमा राम्रो प्रदर्शन गर्नै पर्ने प्रेसर जर्मनीको सबै भन्दा ठूलो कमजोरी हुन सक्छ।

 

हंगेरी (अण्डरडग)

प्रशिक्षक: मार्को रोसी
तालिका: जुन १५ (पोर्चुगल), जुन १९ (फ्रान्स), जुन २३ (जर्मनी)
प्रमुख खेलाडी: गोलरक्षक पिटर गुलाक्सी
प्लेयर टू वाच: अटिला सजलाई

ताकत: घरेलु रंगशाला
हंगेरीले समूह चरणका ३ मध्ये २ खेल आफ्नो घरेलु रंगशाला पुस्कस ऐरेनामा खेल्नेछ। अण्डरडग मानिएको हंगेरीलाई बलियो टोलीमाथि जित दर्ता गर्ने यो सुवर्ण अवसर हुन सक्छ।

कमजोरी: समूह ‘एफ’
युईएफएले हंगेरीलाई समूह ‘एफ’मा राखेर कुनै पनि मद्दत भने गरेको छैन। युरोपका तीन उत्कृष्ट टोलीसँग समूह चरणमै भेट हुनु हंगेरीको सबै भन्दा ठूलो चुनौती हुनेछ।

के यो ‘ग्रुप अफ डेथ’को महासागर पार गरेर रोनाल्डोको कप्तानीमा पोर्चुगलले ‘ब्याक टू ब्याक’ युरो कप उपाधि जित्ला त? समयले आँफै बताउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?