काठमाडौं । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरु बहुमत सदस्यसहित मुख्यमन्त्रीको दाबीका लागि पुगेका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी, जनता समाजावादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चासहित स्वतन्त्र सांसद राजिव गुरुङ समेत प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
प्रदेश प्रमुख सीता पौडेलको आह्वान अनुसार आफूहरु ३१ जनाको बहुमत सदस्यसहितको हस्ताक्षर लिएर मुख्यमन्त्री दाबीका लागि प्रदेश प्रमुख समक्ष पुगेको गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले लोकपथलाई जानकारी दिए ।
‘प्रदेश प्रमुख ज्यूको आह्वान अनुसार हामी बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् । जसमा हिजो विपक्षीमा मतदान गर्ने ३० सांसदहरु र एकजना माननीय राजिव गुरुङ थप हुनुहुन्छ ।’ उनले लोकपथसँग भने ।
त्यस्तै आज नै सबै प्रक्रिया पूरा गर्ने र प्रदेश प्रमुखको इच्छा अनुसार मुख्यमन्त्री नियुक्त हुने उनले बताए । ‘आज हामी सबै प्रक्रिया पुरा गर्नेछौँ । प्रदेश प्रमुखको इच्छा अनुसार भोलि दिउँसो ३ बजेसम्म जतिबेला पनि सरकार नियुक्त गर्नुहोला ।’ उनले भने ।
बिहीवार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तीको लागि आह्वान गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
बिहीवार मुख्यमन्त्री गुरुङले कुल ५७ मध्ये २७ मत प्राप्त गरेका थिए । भने विपक्षीमा ३० मत मात्रै प्राप्त गरेका थिए । गुरुङकै मन्त्रिमण्डलमा युवा तथा खेलकुदमन्त्री रहेका राजिव गुरुङ –दिपक मनाङ) ले समेत विश्वासको मतका पक्षमा हस्ताक्षर गरेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया