को बन्दै छन् प्रहरीमा नयाँ आईजीपी ? सर्वेन्द्र सबैभन्दा अगाडी

काठमाडौं, ७ चैत- नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रतिस्पर्धामा रहेका छन् । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा छन्, राजधानी दैनिकमा खबर छ ।वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ २०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका छन् । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छन् ।रमेश खरेल र उत्तम कार्की दुवै जना प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाले उनीहरूले क्रमशः १ फागुन २०७५ र ३० असार २०७५ मा अवकाश पाउनेछन् । यी चारै जना सँगै डीआईजीमा बढुवा भएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म भने खनालभन्दा खरेल वरिष्ठतामा अगाडि थिए ।नेपाल प्रहरीमा यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने सम्भावना बलियो छ । यसअघि प्रकाश अर्याललाई डीआईजीबाटै आईजीपी बनाइएको थियो । गृह मन्त्रालयले हालसम्म कसैलाई पनि विशेष पद सिर्जना गरेर अतिरिक्त महानिरीक्षक (एआईजी) नबनाइसकेकाले यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने सम्भावना बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?