युरो कप २०२० आज मध्यरातबाट शुरु हुँदै, उद्घाटन खेलमा इटालीको सामना गर्दै टर्की

काठमाडौं। युरो कप २०२० शुक्रवार मध्यरातबाट शुरु हुँदैछ।

कुल २४ टोली सम्मिलित यस प्रतियोगितामा आज रातिको खेलमा इटाली र टर्की प्रतिस्पर्धा गर्दै छन्। समूह ‘ए’ को खेल अन्तर्गत आयोजक राष्ट्र मध्येको एक टोली इटालीले आफ्नो राजधानी ‘रोम’मा आज राति टर्कीविरुद्ध उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछ।

प्रिभिउ

मुख्य प्रशिक्षक रोबर्टो माम्न्सिनीको निगरानीमा रहेको इटालीको टोली ‘रेड हट’ फर्ममा छ। म्यान्चेस्टर सिटीका पूर्व प्रशिक्षक माम्न्सिनीको प्रशिक्षणमा इटालीले ३० खेल खेल्दा मात्र २ खेलमा हार बेहोरेको छ। अझै पछिल्ला २५ खेलमा इटाली अपराजित नै रहेको छ।

इटालीको बलियो अग्रपंक्तिको सामना गर्ने जिम्मेवारी टर्कीका दुई प्रमुख रक्षक काग्लार सोयुञ्चु र मेरी डेमिरालले लिनेछन्। लेस्टर सिटीका प्रमुख सेन्टर ब्याक सोयुञ्चु र युभेन्टसका डेमिरालका साथमा हुनेछन् दुई फूल ब्याक मेहमत सेलिक र उमुत मेरास। भर्खरै लिलसँग लिग-१ को उपाधि जितेका सेलिकलाई इटालीको चुनौती सजिलो भने हुनेछैन।

घरेलु मैदानमा इटालीको तराजु भारी देखिए पनि टर्कीलाई कम आँक्न भने मिल्दैन। पछिल्ला १३ खेलको नतिजा हेर्दा टर्कीले मात्र १ खेलमा पराजय भोगेको छ। सो दौरान उसले जर्मनी र क्रोएसिया जस्ता बलियो टोलीसँग बराबरीको नतिजा निकालेको छ भने नेदरल्याण्ड्सविरुद्ध जित दर्ता गरेको छ।

 

‘मिनी वर्ल्ड कप’ भनेर चिनिने युरो कपको सन् २०२० को संस्करण एक वर्ष पहिले नै आयोजना हुनु पर्ने थियो। तर विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण प्रतियोगिता एक वर्ष यता धकेलियो।

‘जुन ११’ देखि ‘जुलाई ११’ सम्म संचालन हुने यस वर्षको युरो कप युरोपका ११ प्रमुख शहरमा आयोजना हुने कार्यक्रम रहेको छ। सन् १९६० मा पहिलो पटक आयोजना भएको युरो कप त्यसपछि हरेक ४ वर्षको अन्तरालमा आयोजना हुने गरेको छ। युरो कपको ६०औं ‘बर्थडे’ मनाउन यस पटकको युरो कप ११ ओटा फरक शहरमा आयोजना गर्न लागिएको हो। सन् २०१२ मा तत्कालीन ‘युईएफए’का अध्यक्ष मिचेल प्लेटिनीले युरो कप २०२० ११ ओटा शहरमा आयोजना गर्ने कुरा सार्वजनिक गरेका थिए।

इङ्ल्यान्डको लन्डन, नेदरल्याण्ड्सको आमस्टर्डयाम, आजरबैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्यान्डको ग्लासगो, जर्मनीको म्युनिख, इटालीको रोम र रसियाको सेन्ट पिटर्सबर्ग गरी कुल ११ ओटा शहरमा यस पालिको युरो कपका खेलहरु खेलाइने छन्। रोममा प्रतियोगिताको उद्घाटन खेल खेलिने छ भने लन्डनको ‘वेम्बली’मा फाइनल खेल आयोजना हुने कार्यक्रम रहेको छ।

यस प्रतियोगितामा सहभागी कुल २४ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ। हरेक टोलीमा ४ राष्ट्र रहँदा समुह ‘एफ’लाई यसपाली ‘ग्रुप अफ डेथ’ मानिएको छ। समूह ‘एफ’मा साविक विजेता पोर्चुगलसँगै पछिल्ला दुई संस्करणका विश्वकप विजेता फ्रान्स र जर्मनी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?