काठमाडौं, ७ चैत- संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ। चालु आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्तिसँगै भन्सार कडाइ गर्न निर्देशन दिँदा यस्तो तथ्यांक फेला परेको हो।खुला सिमाना र भन्सारको खुकुलोपनाको फाइदा उठाएर पाँच महिनामा ६ अर्ब ८८ करोड रुपैयाँको सामान भारतबाट बिनाभन्सार नेपाल आएको छ। भारतको वाणिज्य विभागमा अभिलेख भएको तर नेपालको भन्सारमा अभिलेख नभएको सामानको अन्तर निकाल्दा यस्तो पाइएको हो। नेपालले भारतबाट आयात गरेको र भारतले निर्यात गरेको तथ्यांकबीचको फरकले यस्तो देखाएको हो, अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।सन् २०१७ को अन्तिम पाँच महिना अर्थात् अगस्टदेखि डिसेम्बरसम्म भारतबाट नेपालमा तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ बराबरको सामान आयात भएको छ। सोही अवधिमा नेपाली भन्सारमा भने तीन खर्ब पाँच अर्ब १६ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ।भारतीय वाणिज्य विभागको तथ्यांकमा यो अवधिमा एक खर्ब ७४ अर्ब १४ करोड भारतीय रुपैयाँ बराबरको सामान नेपाल आएको देखिन्छ। यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा दुई खर्ब ७८ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ।भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिव भण्डारी भारतबाट आयात गरिएका सामानमा १२ प्रतिशत ढुवानी भाडा र बिमा खर्च जोडेर भन्सार गर्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘भाडा र बिमाको खर्च आयातित सामानको मूल्यमै जोडिन्छ। त्यसपछि मात्र भन्सारको अभिलेखमा सामानको आयात मूल्य कायम हुन्छ।’ भाडा र बिमालाई जोडेको रकम समावेश गर्दा सन् २०१७ को पछिल्लो पाँच महिनामा भारतबाट आयात भएको सामानको मूल्य तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ हुन आउँछ। विभागका निर्देशक भण्डारी भारतबाट नेपालमा अनौपचारिक रूपमा सामान आउने भएकाले उताबाट आएको भन्दा कम सामान भन्सारमा अभिलेख भएको बताउँछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया