धनगढीमा कोरोना खोप लगाउन तछाडमछाड (फोटोफिचर)

लोकपथ
91
Shares

टेकसिंह धामी / धनगढी । देशभर कोरोनाभाइरस विरुद्धको भेरोसेल खोप अभियान चलिरहेको छ ।

यसैक्रममा सुदूरपश्चिमको कैलालीमा पनि जिल्ला स्वास्थ्य कार्यालयले पनि जिल्लाका विभिन्न पालिकामा खोप केन्द्र तोकेर खोप अभियान सन्चालन गरेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिकाले तोकेको खोप केन्द्र धनगढी कभर्डहलमा भने सर्वसाधारणहरु खोपका लागि तछाडमछाड गरिरहेका छन् । पहिलो चरणको खोप लगाउन डराएकाहरू पनि अहिले खोप केन्द्र खोज्दै आउने गरेका छन् । खोप लगाउनेहरूको अत्यधिक भीड बढेपछि प्रहरी व्यवस्थापनमा खटिएको थियो तर वडा प्रहरी कार्यालय धनगढीबाट इन्सपेक्टर हेमराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले समेत भीडलाई व्यवस्थित गर्न नसकेर पन्छिएको छ ।

खोपको कार्डमा नाम लेख्ने स्वास्थ्यकर्मीलाई सर्वसाधारणले वरिपरिबाट घेराबन्दी गर्ने गरेका छन् । बजारमा भीडभाड बढ्यो भन्दै निषेधाज्ञा गरिरहेका बेला खोप केन्द्रमा पनि स्वास्थ्य मापदण्डको पालना भने देखिएको छैन ।

अहिले भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइन लागेको हो । तर स्वास्थ्य कार्यालय कैलालीले भने बालबालिका बाहेक सम्पूर्ण नागरिकलाई खोप लगाएको छ । चीन सरकारको दोस्रो पटकको अनुदानमा नेपालले १० लाख डोज खोप प्राप्त गरेको हो । सरकारले यस अघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई दिएको थियो । यसपटक भने नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो ।

पहिलो पटक खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार र अन्य कर्मचारीलाई पनि उपलब्धताको आधारमा खोप लगाइँदैछ । कैलालीका लागि २६ हजार डोज आएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?