सत्याग्रह गर्ने चेतावनी दिँदै डा. केसीले यमनबाट के भने ?

लोकपथ
98
Shares

काठमाडौं – चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत बिएन्डसी मेडिकल कलेजकोे सम्बन्धन प्रक्रिया अघि बढाइए सत्याग्रह गर्ने भन्दै डाक्टर गोविन्द केसीले चेतावनी दिएका छन्।

चिकित्सा शिक्षा आयोगमा बिएन्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया विचाराधीन छ। काठमाडौं विश्वविद्यालयले सम्बन्धन अघि बढाउन सिफारिस गरेपछि त्यसबारे निर्णय लिन आयोगको बैठक बस्ने संकेत पाएपछि यमनबाट विज्ञप्ति जारी गरी केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस्ता खाले निर्णय प्रक्रियामा संलग्न नहुन आयोगका सदस्यहरूलाई अनुरोध समेत गरेका छन्।

उनले लेखेको छन्, ‘त्यसो नगरी प्रधानमन्त्री केपी ओलीको गुण्डाराजलाई साथ दिने जो कसैलाई पनि जवाफदेही बनाउन हामीले कुनै कसर बाँकी राख्नै छैनौँ ।’

प्रधानमन्त्रीले जबरजस्ती जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर सम्बन्धनसम्बन्धी ‘अवैध’ निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको केसीको दाबी छ ।

उनले हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरूमा सेवा दिएर नेपाल फर्कने क्रममा रहेको समेत बताएका छन् । ‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत जबरजस्ती सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरूद्ध सत्याग्रह सुरू गर्ने जानकारी गराउन चाहन्छु’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?