क्यानले नयाँ आर्थिक कार्यविधि गर्यो पारित, खेलाडीको ‘म्याच फी’ र भत्ता तय

काठमाडौं। नेपाल क्रिकेट संघ ‘क्यान’ले नयाँ आर्थिक कार्यविधिलाई पारित गरेको छ।

मंगलबार बसेको क्यानको बैठकले नयाँ कार्यविधि पारित गरेसँगै खेलाडीले पाउने नयाँ भत्ता र ‘म्याच फी’को पनि संशोधन भएको छ।

पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय खेल खेले बापत १० हजार तथा टी-ट्वेन्टी खेले बापत ५ हजार नगद रुपैयाँ पाउने भएका छन्। त्यस्तै महिला तर्फ राष्ट्रिय टोलीका क्रिकेट खेलाडीले हरेक एकदिवसीय र टी-ट्वेन्टी खेले बापत क्रमशः ५ हजार र ३ हजार नगद रुपैयाँ पाउने पक्का भएको छ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले नयाँ कार्यविधि पारित भएसँगै खेलाडीले पाउने ‘म्याच फी’मा संशोधन भएको बताएका छन्। उनले क्यानले गरेको यो निर्णय नेपाली क्रिकेट इतिहासकै पहिलो रहेको पनि बताएका छन्। क्यानको नयाँ कार्यविधिले प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्च बापत ३ लाख र १ लाख दिने निर्णय समेत गरेको छ।

त्यस्तै बन्द प्रशिक्षणमा परेका खेलाडीले प्रति दिन ५०० रुपैयाँ भत्ता पाउने भएका छन्। खेलाडीको डाइट खर्चलाई मध्यनजर गरेर बन्द प्रशिक्षणमा रहेका खेलाडीको दैनिक भत्ता तय गरिएको जानकारी सिंहले दिएका छन्। त्यस्तै यो केवल शुरुवात मात्र रहेको र आगामी दिनमा खेलाडी भत्ता बढ्दै जाने पनि उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?