काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि ’एमीकस क्युरी’(अदालतको सहयोगी) झिकाउन आदेश दिएको छ ।
बुधवार सर्वाेच्च अदालतको संवैधानिक इजलासद्वारा ‘एमिकस क्युरी’का लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई–दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो ।
एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउनेछन् ।
यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट दिन पनि संवैधानिक इजलासले आदेश दिएको छ ।
यसअघि गत पुस ५ मा भएको संसद विघटनसम्बन्धी रिटमा पनि सर्वोच्चले नेपाल बार र सर्वोच्च बारबाट क्रमश ३ र २ जना एमिकस क्युरी माग गरेको थियो । यस पटक भने चारजनाको मात्रै एमिकस क्यूरी गठन भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू इश्वर खतिवडा,मीरा खड्का, दीपककुमार कार्की, र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो ।यसैगरी प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चले बहसका लागि पक्ष र विपक्षका लागि समय समेत निर्धारण गरेको छ । बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय निर्धारण गरेको छ । रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । त्यस्तै विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने गरी तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया