दाङमा कोरोना संक्रमण घट्दै, खाली हुँदै अस्पतालका बेड

लोकपथ
140
Shares

दाङ । दाङमा कुनै बेला ह्वात्तै बढेको कोरोना संक्रमण पछिल्लो समय घट्दै गएको स्वास्थ्य सस्थाहरुले जनाएका छन् ।

कोरोना संक्रमण घट्दै गएपछि अस्पतालहरुमा बेड खाली हुँदै पनि गएका छन् ।

करिब दुई साता अघिसम्म जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालमा बेड पाउन मुस्किलै थियो । त्यसैमा अक्सिजन जुटाउन झन समस्या परेको थियो बिरामी र उनका आफन्तलाई । तर पछिल्लो समय कोरोना संक्रमण दर घटेसँगै अस्पतालहरुमा बेड खाली हुँदै गएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानकि उपकुलपती प्रा.डा. संगीता भण्डारीले कोरोनाको संक्रमण घट्दो अवस्थामा रहेकाले अहिले कोभिडका बेड खालि रहेको बताइन्। उनले महामारीमा बेड र अक्सिजनको निकै अभाव भएको भन्दै पछिल्लो साता कोरानाको बिरामी धेरै घटेको र अहिले उपचारको अभाबमा प्रतिष्ठानबाट बाहिर जानुपर्ने बाध्यता नरहेको सुनाइन्।

उनले अक्सिजन र बेड पर्याप्त नै रहेको उनको भनाइ छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना आइसोलेसन वार्डमा पनि बिरामीको संख्या घट्दै गएको छ । जिल्लामा कोरोना संक्रमण दर घटेसँगै अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या समेत घटेको प्रतिष्ठानका प्रशासन म्यानेजर राजेन्द्र न्यौपानेले जानकारी दिएका छन् । कोरोना संक्रमित बिरामीका लागि उपचारका लागि बनाइएको ५० बेडमध्ये अहिले अस्पतालमा १७ जनामात्र संक्रमितहरु उपचारत अवस्थामा रहेको उनले बताए ।

उनले प्रतिष्ठानमा अहिले कोरोना परीक्षणको दर घटेसँगै अस्पतालमा भर्ना हुन आउने बिरामीको संख्या समेत घटेको बताए । ‘केही समयअघि बिरामीलाई राख्नै मुस्किल हुन्थ्यो तर अहिले त्यस्तो छैन’, उनले भने– ‘अहिले त अधिकांश बेड खालि नै छन् ।’ उनले अहिले दैनिक ५० देखि डेढ सयसम्मको कोरोना परीक्षण हुने गरेको बताए ।

त्यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोना बेड खाली नै छन । कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि २५ बेडको अस्पताललाई ७० बेडसम्म पु¥याएको थियो । त्यसैमा कुनै दिन अस्पतालमा बेड खाली नहुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर उपचार हुने गरेको थियो तर अहिले त्यो अवस्था हटेको अस्पतालले जनाएको छ । कुनै बेला अस्पतालमा बिरामीका लागि बेडसमेत खाली नहुने अस्पतालमा अहिले ३९ जनामात्र कोरोना संक्रमितहरु रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताएका छन् ।

कोरोना संक्रमण दर घट्दै गएपछि अस्पतालमा आउने संक्रमितको संख्या समेत घट्दै गएको उनले बताए । ‘केही समयअघि अस्पतालमा बिरामीलाई बेड पाउन मुस्किल थियो, तर अहिले अस्पताल आउने बिरामी ५० प्रतिशत घटेका छन्’, अस्पतालका व्यवस्थापक वलीले भने– ‘जसले गर्दा अहिले अस्पतालमा बेडहरुसमेत खाली हुँदै गएका छन् ।’ उनले अस्पतालमा आउने बिरामीहरु मात्र नभएर पछिल्लो समय जिल्लामै संक्रमितको संख्या घट्दै गएको समेत बताए ।

त्यस्तै देउखुरीको लमहीमा रहेको देउखुरी कोरोना विशेष आइसोलेसनमा समेत कोरोना संक्रमितको संख्या घट्दै गएको छ । २५ बेडको आइसोलेसन सेन्टरमा अहिले १७ जनामात्र कोरोना संक्रमितहरुको उपचार भइरहेको आइसोलेसन सेन्टरले जनाएको छ । कुनै बेला एक दिनमा २३ जना संक्रमितहरुलाई राखेर उपचार गर्ने आइसोलेसन सेन्टरमा अहिले बिरामीको संख्या घट्दै गएको छ ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा रहेको कोरोना विशेष आइसोलेसनमा अहिले दुईजना मात्र संक्रमितहरु रहेको शान्तिनगर गाउँपालिकाले जनाएको छ । २० बेडको आइसोलेसनमा अहिले दुई जना संक्रमितहरुलाई राखेर उपचार भइरहेको शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको अश्वारामा रहेको मेट्रो कोरोना विशेष आइसोलेसन सेन्टरमा समेत कोरोना संक्रमति बिरामीहरुको संख्या घट्दै गएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?