वेम्बलीमा शर्तसहित २५% दर्शकलाई युरो कप हेर्ने अनुमति

काठमाडौं।  युरो कप २०२० को ११ मध्येको एक रंगशाला ‘वेम्बली’ मैदानमा २२,५०० दर्शकलाई खेल हेर्ने अनुमति दिइने भएको छ।

युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले समूह चरणका ३ खेल देखिनै स्वदेशी दर्शकलाई विशेष प्रमाण पेश गर्दा खेल हेर्ने अनुमति दिन लागेको हो।

लन्डनस्थित वेम्बली मैदानमा इङ्गल्याण्डले समूह चरणका ३ खेल खेल्ने तालिका रहँदा कोरोना भाइरसविरुद्धको दुवै डोजको खोप लगाएका स्वदेशी नागरिकलाई इंग्लिश फुटबल एसोसिएसन (एफए)ले खेल हेर्ने अनुमति दिन लागेको हो। त्यसका लागि ११ वर्ष भन्दा माथिका इच्छुक दर्शकले खेलको मिति भन्दा १४ दिन अगाडि नै कोभिडविरुद्धको दुवै खोप लगाएको प्रमाण पेश गर्नु पर्ने शर्त राखिएको छ।

त्यस्तै खेल मितिको ४८ घण्टा अगाडिको समय भित्र कोरोना परीक्षण नेगेटिभ आएको प्रमाण पनि दर्शकले पेश गर्नु पर्ने अनिवार्य नियम लगाइएको छ। यसो गर्ने २२,५०० इंग्लिश फुटबल प्रेमीलाई एकै पटक वेम्बली मैदानमा प्रवेश दिइने कुरा युईएफएले सार्वजनिक गरेको छ।

वेम्बलीमा प्रतियोगिताको सेमी फाइनल र फाइनल खेल पनि खेलिने तालिका रहेको हुँदा एफए ले दर्शकको उपस्थितिलाई अझै बढाएर ४५,००० बनाउने प्रस्ताव युईएफए सामु प्रस्तुत गरेको छ। तर सो विषयमा ‘ग्रीन सिग्नल’ भने आइसकेको छैन।

वेम्बली मैदानको पूर्ण क्षमता ९०,००० दर्शकको रहेको छ। युईएफएले सेमी फाइनल र फाइनल खेलको लागि ४५,००० दर्शकलाई अनुमति दिएको खण्डमा कुनै पनि फुटबल खेलका लागि यो एक वर्ष यताकै सर्वाधिक दर्शकलाई अनुमति दिइएको रेकर्ड हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?