युरो कपका १० सर्वाधिक गोलकर्ता

काठमाडौं।  युरो कप २०२० आगामी शुक्रवारबाट शुरु हुँदैछ।

‘मिनी वर्ल्ड कप’ भनेर चिनिने युरो कपको सन् २०२० को संस्करण एक वर्ष पहिले नै आयोजना हुनु पर्ने थियो। तर विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण प्रतियोगिता एक वर्ष यता धकेलियो।

‘जुन ११’ देखि ‘जुलाई ११’ सम्म संचालन हुने यस वर्षको युरो कप युरोपका ११ प्रमुख शहरमा आयोजना हुने कार्यक्रम रहेको छ। सन् १९६० मा पहिलो पटक आयोजना भएको युरो कप त्यसपछि हरेक ४ वर्षको अन्तरालमा आयोजना हुने गरेको छ।

युरो कपको ६०औं ‘बर्थडे’ मनाउन यस पटकको युरो कप ११ ओटा फरक शहरमा आयोजना गर्न लागिएको हो। सन् २०१२ मा तत्कालीन ‘युईएफए’का अध्यक्ष मिचेल प्लेटिनीले युरो कप २०२० ११ ओटा शहरमा आयोजना गर्ने कुरा सार्वजनिक गरेका थिए।

इङ्ल्यान्डको लन्डन, नेदरल्याण्ड्सको आमस्टर्डयाम, आजरबैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्यान्डको ग्लासगो, जर्मनीको म्युनिख, इटालीको रोम र रसियाको सेन्ट पिटर्सबर्ग गरी कुल ११ ओटा शहरमा यस पालिको युरो कपका खेलहरु खेलाइने छन्। रोममा प्रतियोगिताको उद्घाटन खेल खेलिने छ भने लन्डनको ‘वेम्बली’मा फाइनल खेल आयोजना हुने कार्यक्रम रहेको छ।

कुनै पनि फुटबल प्रतियोगितामा फुटबल प्रेमीले हेर्न रुचाउने कुरा गोल नै हो। र युरो कपमा गोलको वर्षा कहिले पनि रोकिएको छैन। अन्तराष्ट्रिय खेलमा विभिन्न क्लबका स्टार खेलाडीले आफ्नो राष्ट्रको लागि गोल गर्दा रंगशाला देखि लिएर टेलिभिजनको पर्दा अगाडि बसेका समर्थक माझ ठूलो होडबाजी हुने गर्दछ।

युरो कप १६औं संस्करणसम्म आइपुग्दा गोल र गोलकर्ता पनि बढ्दै गए। युरो कपमा अहिलेसम्म सर्वाधिक गोल गर्ने १० खेलाडीको सूची यस्तो रहेको छ;

१०) नुनो गोमेस

पोर्चुगलका नुनो गोमेस यस सूचीको १०औं स्थानमा पर्दछन। बेन्फिकाका पूर्व स्टार खेलाडी नुनोले युरोकपमा पोर्चुगलको लागि ५ गोल गर्न सफल भएका थिए।

 

९) जलाटान इब्राहिमोभिच

फुटबल जगतमा इब्राहिमोभिचको परिचय दिन जरुरी छैन। स्वीडेनका पूर्व कप्तान इब्राहिमोभिचले युरो कप प्रतियोगितामा ५ गोल गरेका छन्। सन्यासबाट फिर्ता आएका इब्राहिमोभिचले इन्जुरीका कारण यस वर्षको प्रतियोगिता भने गुमाउने तय छ।

 

८) थिएरी अनरी

वर्ल्ड कप तथा युरो कप विजेता फ्रान्सका अनरी यस सूचीको ८औं स्थानमा पर्न सफल भएका छन्। उनले फ्रान्सका लागि ५ युरो कप गोल गरेका थिए।

 

७) वेन रुनी

इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता तथा म्यान्चेस्टर युनाइटेडका पुर्व कप्तान वेन रुनी यस सूचीको ७औं नम्बरमा पर्न सफल भएका छन्। सन् २००४ मा युरो कपमा डेब्यू गरेका रुनीले इंग्ल्याण्डका लागि ५ युरो कप गोल गर्न सफल भए।

 

६) प्याट्रिक क्लुभर्ट

नेदरल्याण्ड्सका खतरनाक स्ट्राइकर क्लुभर्ट यस सूचीको ६औं नम्बरमा पर्न सफल भएका छन्। उनले युरोकपमा नेदरल्याण्ड्सका लागि ५ गोल गरेका थिए।

 

५) रुड भ्यान निस्टलरुई

यस सूचीको ५औं स्थानमा रहेका खेलाडी हुन् नेदरल्याण्ड्सका पूर्व स्ट्राइकर रुड। म्यानचेस्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व सुपरस्टार रुडले यस सूचीमा ५ गोल गरेर परेका सबै खेलाडी भन्दा कम समयमा सो संख्यामा पुग्न सफल भएका हुन्।

 

४) एन्टोइन् ग्रिजम्यान्

फ्रान्सका एन्टोइन् ग्रिजम्यान्ले युरो कपमा ६ गोल गरिसकेका छन्। अहिले यस सूचीमा सम्मिलित १० खेलाडी मध्ये ग्रिजम्यान युरो २०२० खेल्न गइरहेका दुई मध्येका एक खेलाडी हुन्। सन् २०१८ फिफा विश्वकप विजेता ग्रिजम्यानले यस युरो कपमा आफ्नो गोल संख्या अवश्य पनि बढाउने छन्।

 

३) एलन शियरर

युरो कपमा ९ खेल खेलेर ७ गोल गर्न सफल भएका इंग्ल्याण्डका पूर्व स्ट्राइकर शियरर यस सूचीको तेस्रो स्थानमा रहेका छन्। इंग्लिश प्रिमियर लिगका सर्वाधिक गोलकर्ता शियररले सन् १९९६ मा ५ गोल गर्दा पनि इङ्ल्यान्ड प्रतियोगिता जित्नबाट चुकेको थियो।

 

२) क्रिस्टियानो रोनाल्डो

सर्वाधिक गोलकर्ताको सूचीमा रोनाल्डोको नाम नपर्ने कुरै भएन। सन् २०१६ को युरो कप विजेता रोनाल्डोले यस प्रतियोगितामा ९ गोल गरिसकेका छन्। युरो २०२० खेल्न गइरहेका रोनाल्डोले यस प्रतियोगितामा आफ्नो गोल संख्या अवश्य पनि बढाउने छन्। उनी युरो कपको सर्वाधिक गोलकर्ता बन्नबाट मात्र १ गोल टाढा छन्।

 

१) मिचेल प्लेटिनी

तीन पटक ‘बालोन डे ओर’ विजेता फ्रान्सका प्लेटिनी युरो कप प्रतियोगिताकै सर्वाधिक गोलकर्ता हुन्। ५ युरो कप खेलमा ९ गोल गर्न सफल भएका प्लेटिनीले सन् १९८४ मा फ्रान्सलाई युरो कपको उपाधि पनि दिलाए। उनले त्यस प्रतियोगितामा २ ह्याट्रिकका साथै फाइनल खेलमा महत्वपूर्ण गोल पनि गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?