ओली र माधव पक्षको जुहारी : संसदीय दलले सोध्यो स्पष्टीकरण

लोकपथ
104
Shares

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षका सात सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

विपक्षमा मतदान गर्ने एमालेका पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीलाई संसदीय दलले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण पत्रमा संसदीय दलको ह्वीप उल्लंघन गरी गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गरेकोले जेठ २६ गतेभित्र स्पष्टीकरण दिन भनिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेसमेत चेतावनी समेत दिइएको छ । भोलि २६ गते ५ बजेचित्र दलको कार्यालयमा स्पष्टीकरण दिन संसदीय दलले निर्देश गरेको छ । अन्यथा दलको विधान अनुसार कारबाही गर्ने बताईएको छ ।

मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका थिए । जसमा माधव नेपाल पक्षका १७ जनाले भट्टलाई विश्वासको मत दिएका थिए भने ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका थिए ।

ओली पक्ष भन्छ – पार्टीको साधारण सदस्यबाटैे निष्कासन

संसदीय दललले स्पष्टीकरण सोधेकै बेला एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले भने पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका १७ प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उलंघन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्ने बताएका हुन् ।
‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अपराधपूर्ण काम हो । यो क्षम्य हुन सक्दैन,’ थापाले भने, ‘सबै सांसदलाई कारबाही हुन्छ । अब विश्वासको मत दिने सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिनेछ ।’ थापाले विश्वास मत दिने प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसदलाई पार्टीबाट निष्कासन गरिने बताए ।
मंगलबार मुख्यमन्त्री भट्टलाई एमालेको माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यले विश्वासको मतको पक्षमा मतदान गरेका थिए । ओली पक्षका सात जनाले मात्रै विपक्षमा मतदान गरेका थिए भने जसपाका दुई जनाले पनि विपक्षमा मत दिंदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?