काठमाडौं । महोत्तरीमा गोली प्रहारबाट एक जना घाइते भएका छन् । लोहारपट्टी नगरपालिका-६ बस्ने ४५ वर्षीया गायत्री देवी साह अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट सोमवार राति घाइते भएकी छन् ।
रातको समयमा अपरिचित व्यक्तिहरुले आफ्नो घरमा चोरी गर्दै गरेको थाहा पाएपछि हो-हल्ला गर्दा उनीहरुले गायत्रीको बाँया खुट्टाको तिघ्रामा गोली प्रहार गरेका थिए । घाइते गायत्रीलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।
गोली प्रहारपश्चात ती व्यक्तिहरुले सुन तथा चाँदीका विभिन्न गहना, नगद २५ हजार रुपैयाँ र २ थान मोबाइल समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लिई फरार भएका छन् ।
घटनास्थलबाट कटुवा पेस्तोलमा लाग्ने १ राउण्ड लाईभ गोली र १ राउण्ड खाली खोका प्रहरीले बरामद गरेको छ ।
घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया