कहाँ चुक्यो नेपाल ?

जोर्डन भर्सेस नेपाल

काठमाडौं। फिफा विश्वकप २०२२ को छनौट खेल अन्तर्गत नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको छ।

कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा गए राति खेलिएको खेलमा बलियो टोली जोर्डनले नेपालविरुद्ध सहज जित प्राप्त गरेको हो।

जितका लागि मैदान उत्रने दावी गरेको नेपाली टोलीले खेलमा केही अवसरहरु सिर्जना गरेपनि त्यसको फाइदा भने उठाउन सकेन। जोर्डनविरुद्धको यस हार पछि नेपालको विश्वकप २०२२ को यात्रा औपचारिक रुपमा टुंगिएको छ।

जोर्डनका स्ट्राइकर बाहा फैजलले २४औं मिनेटमा पेनाल्टी र ४९औं मिनेटमा फ्रिकिक गोल गर्दा जोर्डनले दुई गोलको अग्रता लिएको थियो। खेलको ६७औं मिनेटमा येजान अल अरबको हेडर गोलले जोर्डनको अग्रता तेब्बर बनायो।

खेल पश्चात नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो हाफको पेनाल्टीले खेलको स्वरुप फेरेको कुरा उल्लेख गरे। “हामीले नराम्रो खेलेका होइनौं, खेलाडीले पनि आफूले सक्दो प्रयास गरेका हुन् तर पेनाल्टीले जोर्डनलाई आत्मविश्वास दियो”, उनले भने।

उनले आफ्नो फेसबुक मार्फत सबै नेपाली फुटबल समर्थकलाई अझै धैर्य राख्न र खेलाडीलाई दोष नदिन पनि आग्रह गरेका छन्। जोर्डनविरुद्धको हारको पूर्ण जिम्मेवारी आफूले लिएको उनले बताए।

नेपाल जोर्डनसँग पराजित हुनु आश्चर्यको कुरा होइन। फिफा वरियतामामा पनि जोर्डन नेपाल भन्दा निकै माथि छ। ९५औं स्थानमा रहेको जोडर्नसँग १७१औं स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्नु नै नेपालको लागि नयां कुरा सिक्ने मौका हो।

तर पछिल्लो समयमा नेपालको बदलिंदो रणनीति, प्रविधि र खेल्ने सीप विकास हुँदै जाँदा नेपाली फुटबल समर्थकले हार भन्दा बाहेकको नतिजा अपेक्षा गरेका थिए। जोर्डनविरुद्धको खेलमा कहाँ चुक्यो त नेपाल?

१) शुरुवाती ११

नेपालले जोर्डनको अग्रपंक्तिको सामु ५ डिफेन्डर खेलाउने निर्णय गर्यो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो साविक ४-३-३ फर्मेशनको सट्टामा ३-५-२ फर्मेशनको प्रयोग गरे। यो फर्मेशन नेपालको लागि अनुकूल रहेन। ‘लेफ्ट ब्याक’ विकास खवासलाई तेस्रो मुख्य सेन्टर ब्याकमा प्रयोग गरियो। लेफ्ट ब्याक सुमन अर्याललाई ‘लेफ्ट विङ् ब्याक’मा खेलाउँदा उनी अन्योलमा देखिए। बेला बेलामा उनी ‘आउट अफ पोजिसन’ भएको पनि पाइयो र खेल अस्त व्यस्त रह्यो। त्यसै बेला नेपालले पेनाल्टी पनि दिन पुग्यो।

जोर्डनका मुसा सुलेमान नेपालको कमजोर बायाँ भागको फाइदा उठाउँदै ‘डि-बक्स’ भित्र छिर्न सफल भए। खेलको २९औं मिनेटमा विकास खवास चोटका कारण मैदान बाहिर निक्सिए। विकासको स्थानमा प्रतिस्थापन भएका सुनिल बल विङमा खेल्न जाँदा सुमन अर्याल लेफ्ट ब्याकको स्थानमा फर्किए। त्यसपछि ४-४-२ को फर्मेशनमा फुटबल खेलेको नेपाली टोलीको प्रदर्शनमा धेरै सुधार आयो र पहिलो हाफको अन्तिम १५ मिनेटमा नेपालले केही अवसर पनि सिर्जना गर्यो।

२) म्यान मार्किङ

खेलको लगभग ९० मिनेट भरीको अवधिमा देखिएको कुरा थियो नेपाली टोलीको कमजोर ‘म्यान मार्किङ’। नेपाली टोलीले ‘जोनल डिफेन्डिङ’ अत्यन्तै राम्रो तरिकाले निभायो। ‘अफसाईड ट्रयाप’ पनि राम्रैसँग बनाएको देखियो। तर यस दौरान नेपालको म्यान मार्किङ भने फितलो नै रह्यो। अप्रत्याशित स्थानबाट पनि जोर्डनका खेलाडीहरुले नेपालको रक्षापंक्ति बिट गरी नै रहे। खेलको धेरै समयमा नेपालको कमजोर म्यान मार्किङले नेपाललाई सताएको देख्न सकियो।

३) फाइनल थर्ड पास

नेपालले खेलमा अवसरहरु सिर्जना नै नगरेको भने होइन। पहिलो हाफको ‘कुलिङ ब्रेक’ पछि नेपालले राम्रो प्रदर्शन गरेको थियो। केही पासहरुको ‘र्‍याली’ राम्रो बन्दा जोर्डनको टोली डिफेन्डिङ गर्न बाध्य पनि भएको थियो। तर नेपालको कमजोरी फाइनल थर्डको पासमा देखियो। खेलको ३५औं मिनेटमा नेपालले जोर्डनको रक्षापंक्तिलाई बिट गर्ने ठूलो मौका पाएको थियो। सुनिल बलको एउटा राम्रो पासको पर्खाइमा थिए अन्जन विष्ट। तर फाइनल पास राम्रो हुन नसक्दा नेपालले खेलमा गोल गर्न सकेन। त्यस्तै केही अवसरहरु खेलको दुवै हाफमा सिर्जना भएका थिए। नेपालले सुधार गर्नु पर्ने प्रमुख क्षेत्र फाइनल थर्ड पास देखिएको छ।

४) मुसा सुलेमान

जोर्डनका लागि जर्सी नम्बर १८ लगाएर खेलेका जाबा मुसा सुलेमानले उत्कृष्ट फुटबल प्रस्तुत गरे। प्लेमेकरका रूपमा खेलेका मुसाले नेपाली रक्षापंक्तिलाई खेलको अधिकांश समय आछुआछु पारे। उनी मैदानको हरेक भागमा देखिन्थे। रोहित चन्दले २३औं मिनेटमा मुसालाई नै ‘डि-बक्स’ भित्र फल गर्न पुगेका थिए। पहिलो हाफको अतिरिक्त समयमा मुसाले उत्कृष्ट मौका सिर्जना गरेका थिए। उनले मैदानको मध्य भागबाट एक्लैले बल लिएर आउँदा नेपालका ५ खेलाडीलाई बिट गरेर शट प्रहार गरेका थिए। गोलरक्षक किरण चेम्जोङ पनि बिट भएको अवस्थामा बलले सही दिशा भने लिन सकेन। मुसालाई म्यान मार्किङ नगरिएको पनि होइन। तर उनको मुभमेन्टको अगाडि नेपाली खेलाडी निरिह देखिए।

५) कमजोर मनोबल

हिजो को खेलमा नेपाली टोलीमा कन्फिडेन्सको कमी देखियो। खेलको पहिलो मिनेटमै जोर्डनले पहिलो शट प्रहार गरेको थियो। खेलको पहिलो १५ मिनेट जोर्डनले बल पोसेशन मा हैकम जमायो। १५औं मिनेटमा मुसाले २५ यार्ड बाहिरबाट प्रहार गरेको शट नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए। त्यसको ५ मिनेटको अन्तरालमा जोर्डनले ४ ओटा कर्नर किक प्राप्त गर्यो। खेलको पहिलो २० मिनेटमै जोर्डनले सिर्जना गरेको प्रेसर र दबदबाले नेपाली टोलीको मनोबल कमजोर भएको देखियो र यसको असर खेलको अधिकांश समयमा पर्यो।

यद्यपि नेपालले आफू भन्दा निकै बलियो टोली जोर्डनसँग हार बेहोरे पनि धेरै कुरा सिक्ने मौका भने अवश्य पाएको छ। फिफा विश्वकप २०२२ को यात्रामा पूर्णविराम लागेपनि एसिया कप २०२३ को ढोका अझै खुल्लै छ।

नेपालले अब आफ्नो अन्तिम सुमह चरणको खेलमा आगामी शुक्रवार, ‘जेष्ठ २८’ गते अस्ट्रेलियाको सामना गर्नेछ। नेपालको लागि अस्ट्रेलियाविरुद्धको खेल अहिलेसम्मकै सबै भन्दा ठूलो चुनौती रहनेछ। अस्ट्रेलियाविरुद्ध नेपालले शानको लागि खेल्ने अल्मुताइरीले बताएका छन्। “खाली डिफेन्ड गरेर खेल हार्नु भन्दा लडेर, डटेर खेल हार्नेछौं, आफ्नो शत प्रतिषण दिनेछौं”, उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?