जोर्डनविरुद्ध नेपाल : आज कठिन परीक्षा

काठमाडौं।  फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल अन्तर्गत आज नेपालले बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।

कुवेतको ‘जबर अल-अहमद अन्तराष्टिय रंगशाला’मा नेपाली समय अनुसार बेलुकी ९:४५ बजे शुरु हुने सो खेलमा नेपाल जितकै लागि मैदान प्रवेश गर्नेछ।

आईतवार भएको ‘प्रि-म्याच कन्फरेन्स’मा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्ध नेपालको लक्ष्य जित नै रहेको बताएका छन्। “हामीलाई अण्डरडग भनेपनि हामी जितकै लागि खेल्नेछौँ”, उनको भनाइ थियो।

“हरेक खेल ०-० बाट शुरू हुन्छ, र मैदानको प्रदर्शनमा जित निर्भर हुन्छ”, उनले थपे। विश्वकप छनोटको सम्भावना लगभग न्यून रहेको हुँदा नेपालको उद्देश्य एसिया कप रहेको छ। “हाम्रो उद्देश्य एसिया कप हो, र त्यसको लागि जित अपरिहार्य छ”, अल्मुताइरीले प्रष्ट नेपालको लक्ष्य बताए।

 

त्यस्तै जोर्डन पनि नेपाललाई हराएर विश्वकप छनोटको सम्भावना जिवित नै राख्न चाहन्छ। कुवेतसँग अंक बराबरी रहेको जोर्डन आजको खेलमा जित निकाल्दै अंक तालिकामा माथि उक्लिन चाहन्छ।

उता जोर्डनका मुख्य प्रशिक्षक भिटल बारकेलमन्सले नेपालको तारिफ गर्दै भने, “सबैले हाम्रो जितको अपेक्षा गरेका छन् तर फुटबलमा जे पनि हुन सक्छ”। अझै उनले नेपालको खेलमा परिवर्तन आएको कुरा पनि उल्लेख गरे, “मैले नेपालका पछिल्ला दुई खेल हेरेको थिएँ, इराक र चाइनिज ताइपेइविरुद्धको खेल हेर्दा नेपालको प्रविधि र स्तरमा फरक आएको पाएँ।”

समूह ‘बी’ मा रहेको नेपाल अंक तालिकाको ४औं स्थानमा छ। नेपालले चाइनिज ताइपेइलाई दुवै चोटी पराजित गर्दा ६ अंक जोड्न सफल भएको छ। उता जोर्डन भने नेपाल भन्दा मात्र १ स्थान माथि रहेको छ। कुवेतसँग समान १० अंक रहेको जोर्डन गोल डिफरेन्सको आधारमा तेस्रो स्थानमा रहेको छ।

हेड टू हेड

नेपाल र जोर्डन विश्वकप छनोटमा अहिलेसम्म तीन पटक भेटिसकेका छन्। जसमा जोर्डनको तराजु भारी रहेको देख्न सकिन्छ। जोर्डनले दुई खेलमा फराकिलो जित निकालेको छ भने नेपालको घरेलु मैदानमा खेलिएको एक खेलमा बराबरीको नतिजा आएको थियो।

सन् २०११ जुलाई २३
जोर्डन ९-० नेपाल

सन् २०११ जुलाई २८
नेपाल १-१ जोर्डन (भरत खवास)

सन् २०१९ अक्टोबर १५
जोर्डन ३-० नेपाल

 

फिफा विश्वकप २०२२ छनोटमा अहिलेसम्म

नेपाल

खेल: ६
जित: २
हार: ४
बराबरी: ०
गोल डिफरेन्स: -१२
अंक: ६

 

जोर्डन


खेल: ५
जित: ३
हार: १
बराबरी: १
गोल डिफरेन्स: ८
अंक: १०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?