काठमाडौं । सिरहाको मिर्चैयामा अज्ञात समूहले चलाएको गोलीबाट एक जना औषधि व्यवसायी घाइते भएका छन् । शनिवार राति तीन–चार जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले मिर्चैया नगरपालिका–५ का ३९ वर्षीय राम सागर साफीमाथि गोली चलाएका हुन् ।
राम सागरको हातमा र तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी शालिग्राम शर्माले लोकपथलाई जानकारी दिए ।
घाइते रामसागरको हाल मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भइरहेको उनले जानकारी दिए ।
‘उनको हातमा र तिघ्रामा गोली लागेको छ । उपचार भइरहेको छ । स्वस्थ्य अवस्था खतरामुक्त छ ।’ डीएसपी शर्माले भने ।
मिर्चैयास्थित मुख्य चोकमा सिद्धि मेडिकल हल सञ्चालन गर्दै आएका साफीमाथि पसलमा हिसाब गरिरहेका बेला बत्ती गएको मौका छोपी गोली हानिएको थियो ।
घटनास्थल इलाका प्रहरी कार्यालय मिर्चैयाभन्दा ५० मिटरको दूरीमा रहेको छ ।
अनुसन्धानका क्रममा घटना पारिवारीक कारण भएको हुनसक्ने बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको अशंकामा ५ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिएको डीएसपी शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया