कर्णाली प्रदेश सरकारमा सामेल हुने कांग्रेसको निर्णय, यी हुन् सिफारिसमा परेका दुई नाम

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेस पनि कर्णाली प्रदेश सरकारमा सामेल हुने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतत्वको सरकारमा सामेल हुनका लागि कांग्रेसले दुई मन्त्रीको नाम समेत टुंग्याइसकेको छ ।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा सामेल हुनका लागि दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बीसीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले लोकपथलाई जानकारी दिए ।

‘सरकारमा सामेल हुनका लागि हामीले अन्तिम नामावली समेत तय गरिसकेका छौँ । दिनबन्धु श्रेष्ठ र यज्ञ बिसीको नाम सिफारिस गरिएको छ । सम्भवत भोलि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट त्यसको अन्तिम टुंगो लाग्नेछ ।’ नेता शाहीले लोकपथसँग भने ।

शुक्रवार साँझ बसेको कर्णाली प्रदेश कांग्रेस संसदीय दलको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

हाल कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका ६ जना सांसद रहेका छन् ।

फागुन २३ गतेको फैसलापछि एमाले र माओवादी पूर्ववत् रुपमा फर्किएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले कांग्रेस जसपासहित एमालेकै माधव नेपाल पक्षका सांसदहरुको सहयोगमा आफ्नो पद जोगाएका थिए । त्यससँगै मुख्यमन्त्री शाहीले विस्तार गर्न लागेको मन्त्रीमण्डलमा कांग्रेस सहभागी हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?